इटहरी / इटहरीमा अबैध रूपमा नेटवर्किङ धन्दा चलाउने गरेको आरोपमा इटहरीका ३ वटा कम्पनीमा इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ ।

इटहरीलाई केन्द्रबिन्दु बनाएर अबैध रूपमा सञ्चालनमा ल्याएको कम्पनीहरूमा उपमहानगरले अनुगमनको क्रममा तालाबन्दी गरेको हो । इटहरीका मेयर हेमकर्ण पौडेलले अबैध रूपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्दै कम्पनीमा तालाबन्दी गरेर कम्पनीका सञ्चालकलाई तीन दिन भित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए ।

नेटवर्किङको नाममा ठगी धन्दा सुरु भएको भन्दै उजुरी परेको कारण अहिले उपमहानगरले अभियानकै रूपमा अनुगमन गरिरहेको छ । कम्पनीमा आबद्ध व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाँड्ने गरेको पाइयो मेयर हेमकर्ण पौडेलले भने ।

इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो । ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरूले गरिरहेको पाइएको हो ।

जटिल रोग निको पारिने भन्दै सयौँ सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउ‘दै रकम लिने गरिएको छ । अझ सदस्य बनाएबापत औषधी छुट मूल्यमा पाउने तथा बोनस दिलाइने भन्दै सर्वसाधारणसँग लाखौँको कारोबार गर्दै आएको छ ।

गैरकानुनी रूपमा बनाईएका सदस्यहरूलाई कम्पनीले कमाएको मुनाफा वितरणमा बढी  भए बढी कमाइने र कम भए थोरै कमाइने भनेर सिकाईन्छ। त्यहीअनुसार बढी पैसा असुल्ने अरु विभिन्न नामका योजना कम्पनीले बनाएको भन्दै अनुगमनको क्रममा बन्द गरिएको हो ।