सुनसरी । ६ महिनाअघि दादुराको प्रकोप फैलिएको सुनसरीमा सोमबारबाट दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा पनि सोमबारबाट विशेष अभियान सञ्चालनमा ल्याइएको हो ।
अभियानबारे स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा बैठक डाकी सोमबारबाट सुनसरीका १२ स्थानीय तहमध्ये ९ स्थानीय तहमा अभियान सुरु भएको जानकारी गराएको हो ।
धरान उपमहानगरपालिकामा भने डेंगी महामारी फैलिएकाले खोप अभियान तत्काल सञ्चालन गर्न नसकेको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईँले बताए ।
बर्जू गाउँपालिकामा भने गत फागुन महिनामा महामारीका रूपमा दादुरा फैलिए लगत्तै आकस्मिक खोप अभियान चलाइएको थियो ।  देवागञ्ज गाउँपालिकामा साउन २८ गते देखी मात्र खोप लगाइने तयारी रहेको प्रसाईँले बताए ।
एक सातासम्म चल्ने अभियानमा ६ महिनादेखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको छ । सरकारले सन् २०२३ अर्थात् यसै वर्षभित्र नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ । देशका विभिन्न जिल्लामा दादुराको प्रकोप देखिएकाले यो लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको सुनसरी, मोरङमा पनि दादुराको प्रकोप फैलिएको छ ।
मोरङमा साउन २८ देखी ३२ गतेसम्म खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

दादुरा निवारणका लागि सरकारी तथा विभिन्न गैरसरकारी निकायले काम गर्दै आएका छन् भने विभिन्न दातृ निकायले पनि सहयोग गर्दै आएका छन् । तर पनि बर्सेनि प्रकोप दोहोरिँदा सरकारी प्रभावकारितामै प्रश्न समेत उठेको छ ।