सुनसरी । सरकारले प्रत्येक नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्ने सङ्कल्प लिए पनि कोसी प्रदेशका नागरिक आर्सेनिक र ब्याक्टेरियायुक्त पानी पिउन बाध्य छन् ।

पानी परीक्षण प्रयोगशाला इटहरीले गरेको नमुना प्रयोगशाला परीक्षणमा कोसी प्रदेशका प्रायः सबै जिल्लाका नागरिकले बर्षौंदेखि आर्सेनिक र इ-कोली ब्याक्टेरियायुक्त पानी खान बाध्य भएको देखिएको हो ।

कोसी प्रदेशका १४ जिल्ला मध्ये पहाडी जिल्लामा ई-कोली ब्याक्टेरिया र तराईका जिल्लाका बासिन्दा आर्सेनिकयुक्त पानी खान बाध्य भएका छन् । पानी परीक्षण प्रयोगशाला इटहरीले गत आर्थिक वर्षमा १ सय ५१ वटा नमुना परीक्षण गर्दा २० प्रतिशत भन्दा बढीमा ई-कोली ब्याक्टेरिया रहेको पुष्टि भएको पानी परीक्षण प्रयोगशाला, इटहरीका प्रमुख अधिकृत रमेशकुमार यादवले जानकारी दिए ।

सङ्खुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा, भोजपुर लगायतका जिल्लाको पानीमा ई-कोली ब्याक्टेरिया र तराईका झापा, मोरङ र सुनसरीको पानीमा आर्सेनिक रहेको पुष्टि भएको छ । यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँ जस्ता रोग लाग्ने भए पनि सर्वसाधारणसँग अर्को विकल्प छैन ।

पानी प्रयोगशालाले वर्षेनि ल्याब रिपोर्ट सार्वजनिक गर्दै आएको भए पनि प्रभावित क्षेत्रमा यसको रोकथामका लागि काम गरिएको पाइँदैन । आम नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नु सरकारको दायित्व हो ।

यसका लागि सचेतना अभियान थाल्नुपर्ने आवश्यकता देखिएको पानी परीक्षण प्रयोगशाला इटहरी कार्यालयको भनाई छ ।