सुनसरी । सुनसरीको धरानमा महामारीको रूपमा फैलिएको डेंगीको प्रकोप नियन्त्रणमा तीन तहको सरकार बिच समन्वय अभाव देखिएको छ । डेंगीको प्रकोप महामारीकै रूपमा फैलिएर आठ जनाको मृत्यु हुनुको साथै तीन हजार भन्दा बढी सङ्क्रमित भएको धरानमा सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय नहुँदा नियन्त्रणमा चुनौती देखिएको छ ।

धरानमा फैलिएको डेंगी नियन्त्रण बाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक सहितको टोली गत साता धरान आयो । डेंगी नियन्त्रण हुन नसकेपछि स्थानीय सरकारको प्रतिबद्धता खोज्न सुनसरी आएको टोली दुई दिन अन्तरक्रिया गरेर फर्कियो । त्यसयता तीनै तहको सरकारबिच कुनै समन्वय देखिएन । स्थानीय सरकारले प्रदेश र केन्द्रको मुख ताक्ने र प्रदेश र सङ्घीय सरकारले बजेट अभाव देखाउँदै स्थानीय तहको मात्र भर पर्ने परिपाटीले डेंगी नियन्त्रणको लागि प्रभावकारी काम हुन सकेको छैन ।

धरान उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष कृष्णप्रसाद भटराई प्रदेश र सङ्घीय सरकारले समन्वय नगर्दा प्रभावकारी काम हुन नसकेको बताउँछन् । धरानका स्थानीय महेश्वर कोइरालाले सङ्क्रमण जूनपुरमा फैलिएको छ त्यहीरुपमा समन्वय हुनुपर्नेमा त्यसो हुन नसकेको बताउँछन् । डेंगी फैलिएको दुई महिनाको अवधिमा धरान उपमहानगरपालिकाले प्रभावकारी काम गर्न सकेको छैन । तीन बर्सअघि यस्तै महामारी भएको बेला एक जूट भएका तीनै तहको सरकार अहिले तीन तिर फर्किएका छन् ।

तीनै तहको सरकारबिच समन्वय हुन नसकेको र प्रभावकारी समन्वयको लागि एउटा संयन्त्र तयार पारिएको स्वास्थ्य मन्त्रालय कोसी प्रदेशका निमित्त सचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिए । स्वास्थ्य कार्यालय, सुनसरीका प्रमुख सागर प्रसाईँ पनि जूनपुरमा समन्वय हुनुपर्ने त्यो रूपमा हुन नसकेको स्विकार्छन् ।

डेंगीको प्रकोप फैलिएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाए पनि त्यो पर्याप्त हुन सकेको छैन । नागरिक समाज, टोलबिकास लगायत विभिन्न सङ्घ संस्थालाई उपमहानगर नेतृत्वले एक जूट गराउन सकेको छैन ।

तीनै तहको सरकार र सरोकारवाला निकायहरू बिचको समन्वय अभावले प्रभावकारी काम नहुँदा नगर बासी त्रसित बनेका छन् ।