विराटनगर । विराटनगर महानगरपालिकाले निःशुल्क एम्बुलेन्स  सेवा सुरु गर्ने भएको छ। केही दिन भित्रमा महानगरपालिकाले सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने बित्तिकै विराटनगरका नागरिकले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। एम्बुलेन्स र शव बहानको व्यवस्था नहुँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, सुत्केरी तथा गर्भवती महिला, आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या भएको निष्कर्ष सहित महानगरले शव बहान र एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो ।ambulancee
जिपिएस जडित एम्बुलेन्स सञ्चालनमा आउने बित्तिकै रातो र निलो परिचय पत्र प्राप्त अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी महिला, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिइने महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । ‘महिला बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी अभियान चलाउन लागिएको हो, उनले भनिन्, महानगरले चाँडै अति विपन्न परिचय पत्र बनाउने र त्यसको आधारमा आर्थिक अवस्था कमजोर भएकाहरूलाई पनि निःशुल्क सेवा दिइनेछ ।’  महानगरपालिकाले सुरु गर्ने एम्बुलेन्स सेवा अन्य नागरिकको हकमा भने जिल्ला दररेट भन्दा ५० प्रतिशत कम अर्थात् लागत खर्चको आधारमा सेवा शुल्क लिने तयारी गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । 
भन्सार छुट सहित आएको एम्बुलेन्स अत्याधुनिक प्रविधि जडित रहेको जनाइएको छ। एम्बुलेन्स  ११ लाख ७१ हजार २२६ रुपैयाँको लागतमा  खरिद भएको अलीले जानकारी दिए । शव बहान भने आउन केही समय लाग्ने जनाइएको छ।