सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगी क्लिनिकले धान्न नसकेपछि आइतबारदेखि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो ।

प्रतिष्ठानका निर्देशक जगत नारायणका अनुसार सय बेड क्षमताको कोभिड-१९ अस्पताललाई तत्कालका लागि डेंगी अस्पतालको रुपमा परिवर्तन गरिएको हो । बिरामीकै चाप थेग्न नसकिरहेको बेला डेंगी संक्रमित बिरामीको संख्या झन् बढेपछि कोभिड-१९ अस्पतालको भवनलाई डेंगी अस्पताल बनाइएको प्रतिष्ठानले जनाएको छ ।

पछिल्लो दुई दिनयता प्रतिष्ठानको ५० बेडको अब्जर्भेसन वार्डमा ८५ प्रतिशत बेड डेंगीका बिरामीले भरिएपछि छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याइएको हो । केही दिनयता प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा दैनिक ६० देखि ७५ जना डेंगी संक्रमित आउने गरेका छन् ।

डेंगीको प्रकोप बढेपछि उपचारबाट वञ्चित नहोऊन् भनेर प्रतिष्ठानले जनशक्तिको व्यवस्थापन गरेर डेंगी अस्पताल सञ्चालनमा ल्याएको निर्देशक नारायणले बताए ।