सुनसरी । भोजपुरको कोदार फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै खोटाङ जिल्ला फुटबल संघ हर्क साम्पाङ फुटबल कप २०८३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी क्षेत्रीय रंगशालामा जारी प्रतियोगिताको आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा खोटाङले फराकिलो जित निकालेको हो ।

खोटाङको जितमा बिनु आले मगर, शिशिर लेखी, उमेश कार्की र ओशन राईले एक–एक गोल गरे ।

एक गोल भने भोजपुरले आत्मघाती उपहार दिएको थियो । भोजपुरका आशिष लावतीले एक गोल फर्काएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका खोटाङका कप्तान उमेश कार्की प्लेयर अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा सोमबार ब्रदर्शहुड एफसी उदयपुर र रेडहर्स एफसी इलामबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।