विराटनगर । कोशी प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा तीनदेखि चार जना विशेषज्ञ चिकित्सक खटाउने तयारी गरेको छ । विशेषज्ञ डाक्टर खटाउनका लागि बजेटको व्यवस्था गरेकाले यसका आवश्यक तयारी थालिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले दुर्गम तथा पहाडी जिल्लाका जनतालाई स्थानीय स्तरमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन यस्तो योजना अघि बढाइएको बताए ।
उनले ताप्लेजुङ, तेह्रथुम, भोजपुर, सङ्खुवासभालगायत पहाडी तथा हिमाली जिल्लाका अस्पतालहरूमा विशेषज्ञ सेवा नहुँदा समस्या भएकाले विशेषज्ञ डाक्टरको व्यवस्था गर्न लागिएको बताए । उनले प्रसूति तथा स्त्रीरोग, एमडीजीपी, फिजिसियन तथा एनेस्थेसियालगायत न्यूनतम विशेषज्ञ टोली परिचालन गर्न लागेको बताए । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम मार्फत स्थायी दरबन्दी मिलान नहुन्जेलसम्म विशेष बजेटबाटै भए पनि शल्यक्रियासहितको प्रसूति सेवा नियमित गरिने उनले बताए ।
मन्त्री पराजुलीले ओएण्डएम पास गर्ने अन्तिम तयारी भएको बताए । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनामा मातहतका १४ स्वास्थ्य कार्यालय, १६ अस्पताल र आयुर्वेद केन्द्रहरूको स्थलगत अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री पराजुलीले प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने बताए । यसै गरी पाँचथर, उदयपुर, सङ्खुवासभा र उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरलाई नमुना अस्पतालका रूपमा विकास गरिनेछ। धनकुटा अस्पताललाई १०० शय्यामा विस्तार गरी मेडिकल कलेजको आधार तयार गर्ने तथा झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताललाई २०० शय्यामा पुर्याएर स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अघि बढाउने नीतिगत निर्णय भएको उनले स्पष्ट पारे ।











