सुनसरी । नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका भोली (विहिबार) बिहान ८ बजे निर्वाचन हुने भएको छ ।
आज(बुधबार) बाट सुरु भएको नगर अधिवेशनमा सहमतिको प्रयास गरे पनि सफल हुन नसके पछि निर्वाचन हुने भएको हो । आज राति पनि समहतिका लागि प्रयास जारी रहेको काँग्रेसका नेताहरुले बताएका छन् ।
काँग्रेसका अगुवा नेता तथा उम्मेद्वारहरुले सहमतिका लागि थप समय माग गरेपछि निर्वाचन कार्यक्रमको कार्यतालिका केही हेरफेर गरी भोलीका लागि निर्वाचनको मिति तोकिएको हो ।
नगर सभापतिका लागि विकास के.सी र बालकृष्ण विष्टले उम्मेद्वारी दर्ता गराएका छन् । बालकृष्ण विष्ट हालको कार्यसमितिका उपसभापति हुन भने विकास के.सी यस अघि दुई पटक सभापतिको आकांक्षी भएर हेमकर्ण पौडेलसँग पराजित भएका थिए ।
यसअघि हालका उपसभापति कोविदजंग कार्की र सचिव बिक्रम घिमिरे पनि सभापतिको दौडमा थिए । उपसभापति कार्कीले कुनै पदमा उम्मेद्वारी दिएका छैनन् ।
सचिव घिमिरेले अध्यक्षको दौड छाडेर उपसभापतिमा उम्मेद्वारी दिएका थिए । तर अन्तिम समयमा घिमिरेले उपसभापतिको उम्मेद्वारी पनि फिर्ता लिएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार घिमिरेले उपसभापतिको उम्मेद्वारी फिर्ता लिएका छन् । उपसभापतिमै उम्मेद्वारी दिएका अनिष सुवेदीले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । खुल्ला तर्फ एक उपसभापतिका लागि ७ जनाको उम्मेद्वारी परेको छ ।
सभापतिको दौडमा रहेर कुनै पदमा उम्मेद्वारी नदिएका कोविदजंग कार्कीले सामाजिक सञ्जाल फेसबुुकमा भावुक स्टाटस लेखका छन् ।
उनले लेखेका छन्,‘ पदका लागि आफ्नो विचार र सिद्धान्तसँग सम्झौता गर्नुभन्दा, पद बाहिर रहेर पनि शिर ठाडो पारेर हिँड्न सक्नु मेरो रोजाइ हो । पद आउँछ–जान्छ, तर आत्म सम्मान गुम्यो भने सबै कुरा गुम्छ ।’
कार्कीले पदका लागि कुनै सम्झौता नगर्ने र पद बाहिर बस्ने बताएका छन् । उम्मेद्वारी नदिएका कार्कीले कसलाई समर्थन गर्ने भन्ने खुलाएका छैनन् । यस्तै सभापतिको दौड छाडेर उपसभापतिमा उम्मेद्वारी दिएर फिर्ता लिएका बिक्रम घिमिरेले पनि कसलाई समर्थन गर्ने भन्ने खुलाएका छैनन् ।
कस कसले दिए उम्मेद्वारी ?
उपसभापति महिला एक पदका लागि २ जनाको उम्मेद्वारी परेको छ । महिला उपसभापतिका लागि एलिना चौधरी र मेनुुका गिरीले उम्मेद्वारी दिएका छन् ।
यता एक खुल्ला उपसभापति पदका लागि ७ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । जस मध्ये बिक्रम घिमिरे र अनिष सुवेदीले उम्मेद्वारी फिर्ता लिएका छन् ।
उप सभापतिमा अर्जुन कार्की,घनश्याम बराल,विकास भट्टराई,बिशुधन राई र रतन कार्कीको उम्मेद्वारी परेको छ ।
यस्तै एक सचिव पदका लागि ३ जनाको उम्मेद्वारी परेको छ । प्रलाद दाहाल, रुद्रप्रसाद सुवेदी र रोशन कुमार तामाङले उम्मेद्वारी दिएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार सबै सदस्य पदमा भने निर्विरोध चयन भएका छन् ।
त्यसैले भोली हुने निर्वाचनमा पदाधिकारीका लागि मात्रै निर्वाचन हुने भएको हो ।












