विराटनगर । नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका ४७ वटा हिमताल र हिमनदी खतरामा रहेको पाइएको छ । खतरामा रहेका मध्ये ४२ वटा हिम नदी र हिमताल नेपालकै सबैभन्दा ठुलो नदी कोशी नदीको प्रणाली ९ बेसिनमा० मा रहेको पाइएको छ ।

खतरामा रहेका ३ वटा हिमताल र हिमनदी गण्डकी बेसिनमा, र २ वटा हिमताल कर्णाली बेसिनमा रहेको सो अध्ययनले देखाएको छ । २०२२ मा गरिएको अध्ययनले नेपालका ठुला नदी प्रणाली ९वेसिन० मा जोडिने यी हिमतालहरू फुट्न सक्ने र यसले ठुलो विनाश ल्याउन सक्ने देखाएको छ ।

युएनडीपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास कार्यक्रम ९ इसीमोड ० ले हिन्द कुश पर्वत क्षेत्रमा सो अध्ययन गरेको थियो । अध्ययन अनुसार अधिकांश हिमताल तिब्बती क्षेत्रमा रहेका छन् ।

कोशी, गण्डकी, कर्णालीको नदीको बहाव प्रणालीमा जोडिने ती खतरनाक हिमताल र हिमनदी मध्ये २५ वटा चीनको तिब्बतमा, २१ वटा नेपालमा, र १ वटा भारतमा पर्दछन् । तिब्बत र भारतमा जोखिमा रहेका ती तालहरू फुटेमा त्यसको प्रभाव भने नेपालमा पर्ने सो अध्ययनले देखाएको छ ।

भदौको १० गते रसुवाको नेपाल चिन सीमामा आएको हिम बाढीका कारण अकल्पनीय विपद् आएको छ । यस्ता विपद् ल्याउन सक्ने थप हिमताल र हिमनदीहरू रहेकाले विपद् व्यवस्थापनमा नेपाल र चीनबिच सूचना आदानप्रदान र समन्वयसमेत महत्त्वपूर्ण हुने सो अध्ययनले औँल्याएको छ ।

नेपालका कोशी, गण्डकी कर्णाली चिनको तिब्बत र भारतमा रहेका हिम ताल र हिम नदीहरूको सम्भावित खतराका विषयमा अध्ययन भएको थियो ।

अनुसन्धान टोलीको नेतृत्व इसिमोडका क्रायोस्फियर विश्लेषक शरदप्रसाद जोशीले गरेका थिए । टोलीमा इसिमोडका रिमोट सेन्सिङ विश्लेषक सुदन विकास महर्जन, रिमोट सेन्सिङ एशोसिएट तेन्जिङ चोग्याल शेर्पा र काठमाडौँ विश्वविद्यालयका विद्यावारिधि शोधकर्ता राकेश कायस्थ सहभागी थिए । यस्तै अध्ययनमा समजवालरत्न बज्राचार्य,फिनु श्रेष्ठ, निशा वाग्ले र अरुण भक्त श्रेष्ठ सहभागी थिए ।

स्थलगत अध्ययनमा ड्रोन सर्वेक्षण, तालको गहिराइ मापन गर्ने बाथिमेट्री सर्वेक्षण तथा बाँधको आन्तरिक संरचना बुझ्न भौगर्भिक अध्ययन गरिएको थियो ।

कहाँ र कुन हिमताल खतरामा ?

प्रतिवेदन अनुसार कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा ३,६२४ हिमतालहरू पहिचान गरिएको छ ।

ती मध्ये ४७ वटा हिमतालहरू सम्भावित खतराको सूचीमा रहेका छन् । नेपाल तर्फ रहेका खतराको सूचीमा रहेका सबै भन्दा बढी हिमताल सप्तकोशी नदीको दुधकोशी बेसिनमा रहेका छन् । दुधकोशी बेसिनमा पर्ने ९ वटा हिमताल खतराको सूचीमा रहेको सो अध्ययन प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा इम्जा हिमताल, लुम्दिङ, चामलाङ, होङ्गु १ र होङ्गु २ खतरामा रहेका छन् । ती हिमतालहरूको तीव्र रूपमा विस्तार भइरहेकाले माथिबाट बरफ खस्ने उच्च जोखिम रहेको अध्ययनले देखाएको छ । यस्तै यी हिमतालेको निकास बाँधको छेउमै रहेको पाइएको छ । यस्तै यी हिमतालहरूको बाहिर अत्यधिक भिरालो रहेकाले पनि जोखिम बढी हुने अध्ययनले देखाएको छ ।

अध्ययनले सप्तकोसी नदी प्रणालीको सबै भन्दा ठुलो नदी अरुण बेसिनमा ४ वटा हिमताल खतराको सूचीमा रहेको पाइएको छ । सो रिर्पोट अनुसार सो बेसिनमा लोअर बरुण सबै भन्दा जोखिममा रहेका पाइएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्जको बरुण उपत्यकामा समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरको उचाइमा रहेको तल्लो बरुण हिमताललाई नेपालकै ठुलो सम्भावित खतरनाक हिमतालमध्ये एक मानिएको छ ।

करिब २।७ किलोमिटर लामो र ६०० मिटर चौडा यो ताल मकालु आधार शिविर जाने पदमार्गको छेउमा छ । बरुण हिमनदी पग्लिएर बनेको तालको पानी बरुण खोला हुँदै अरुण नदीमा मिसिन्छ । इसिमोड र युएनडिपीले सन् २०२० मा गरेको संयुक्त अध्ययनले तल्लो वरुणलाई नेपालकै सबैभन्दा ठुलो र सम्भावित रूपमा खतरनाक हिमतालका रूपमा वर्गीकरण गरेको थियो । यसमा करिब ११ करोड २३ लाख घनमिटर पानी रहेको मापन गरिएको थियो । सन् १९९२ मा यसको क्षेत्रफल ०ं७७ वर्ग किलोमिटर रहेकोमा पछिल्ला वर्षमा ताल विस्तार हुँदै आएको छ । यसै गरी तमोर बेसिनमा रहेका ४ वटा हिमताल खतराको सूचीमा रहेका छन् ।

यस्तै तामाकोसी बेसिनमा १ वटा हिमताल जोखिमा रहेको पाइएको छ । सो बेसिनमा रहेको छो रोल्पा हिमताल खतरामा रहेको हो । हिमनदी पग्लिएर बनेको यो ताल तीव्र रूपमा बढिरहेको छ । यसको कमजोर साइड बाँध उच्च जोखिममा छ । यसै गरी त्रिशूली बेसिनमा रहेको एउटा हिमताल मर्स्याङ्दी बेसिनमा रहेको ठूलागी हिमताल पनि जोखिममा रहेको इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

ठूलागी हिउँले ढाकिएको हिमनदी हो । यसको फेदमा अवस्थित ठुलो ताल रहेको छ । तालको वरिपरिका भित्ताहरूबाट हिम पहिरो र भूस्खलन हुने उच्च सम्भावना छ प्रतिवेदनमा उल्लेख छ । मुगु कर्णाली बेसिनमा रहेको एउटा हिमताल पनि जोखिममा रहेको पाइएको छ । तिब्बत तर्फ रहेका र जोखिममा रहेका २५ मध्ये २४ हिमतालहरू सप्तकोशी वेसिन अन्तरगत रहेको पनि सो अध्ययन प्रतिवेदनमा उल्लेख छ ।