सुनसरी। शिक्षकलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयमा शिक्षक नरकुबीर राईको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय पत्न कुलुङलाई प्रहरीले बन्दुक सहित पक्राउ गरेको हो । शिक्षक राई गएराती मृत फेला परेका थिए ।
शुक्रबार बिहान ११ बजे मकालु गाउँपालिका–१ सिउँडीबारी बस्ने अन्दाजी ३३ वर्षीय पत्न कुलुङ राईलाई घटनामा प्रयोग भएको भनिएको बन्दुक सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
सिलिचोङ गाउँपालिका–५ याफु घर भई कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३५।३६ वर्षीय नरकुबिर खम्बु राई को बिहीबार राति विद्यालय परिसरमै गोली हानी हत्या गरिएको थियो । गोली किन हानियो भन्ने विषय भने अझै सार्वजनिक भएको छैन ।











