सुनसरी – कोशी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकलीले जितेको छ।
सुनसरीको इनरुवास्थित मधेशा कबर्ड हलमा आइतबार राति सम्पन्न फाइनलमा गुद्री भलिबल तालिम केन्द्र विराटनगरलाई २–१ सेटले पराजित गर्दै एपीएफ पकली च्याम्पियन बनेको हो।

एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट भने गुद्री भलिबल तालिम केन्द्रले २५–१३ ले जित्दै खेल बराबरीमा ल्यायो। तर तेस्रो तथा निर्णायक सेटमा एपीएफले २५–१६ को जित निकाल्दै उपाधिमाथि कब्जा जमायो।
उपाधिसँगै एपीएफ पकलीले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता गुद्री भलिबल तालिम केन्द्र विराटनगरले १ लाख रुपैयाँ पुरस्कार पाएको छ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा शान्तिदीप नेपालको आयोजनामा असार १८ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दुई विभागीय टोलीसहित विभिन्न ८ टोली सहभागी थिए।











