सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संस्थागत सुधार गरिने मन्त्रीद्धयले बताएका छन् । स्वास्थ्य मन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको संयुक्त अनुगमन गर्दै यस्तो बताएका हुन ।
अनुगमनका क्रममा मन्त्रीद्वयले प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गर्ने, संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने बताएका छन् ।
अनुगमनका क्रममा प्रतिष्ठानको स्वास्थ्य सेवा, शैक्षिक वातावरण, पूर्वाधार विकास, प्रशासनिक सुशासन तथा सार्वजनिक सम्पत्तिको संरक्षणका विषयमा विस्तृत छलफल भएको थियो ।
मन्त्रीद्वयले १३ वर्षदेखि खरिद हुन नसकेको (एमआरआई) मेसिनका लागि मन्त्रालयबाट २५ करोड बजेट विनियोजन गरी खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए । लामो समयदेखि विवादमा रहेको (एमसीएच) भवन सञ्चालनमा आइसकेको उल्लेख गर्दै प्रतिष्ठानको समग्र सुधारलाई उच्च प्राथमिकतामा राखिएको बताए ।
संस्थागत सुधारका लागि रिफर्म कमिटी गठन गर्ने, विद्यार्थीका लागि आधुनिक स्किल ल्याब र व्यवस्थित लाइब्रेरी विकास गर्ने तथा अस्पताल परिसरभित्र रहेको निर्भाना कन्ट्री क्लब अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउने प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।











