सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिताको उपाधिका लागि छिन्नमस्ता लायन्स र इटहरी सुपर किङ्सबीच फाइनल भिडन्त हुने भएको छ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिकास्थित डा. खलिल अजाद खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा भारतको आरएमएल स्पोर्ट्स एकेडेमीलाई २ विकेटले पराजित गर्दै छिन्नमस्ताले उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।

पहिलो क्वालिफायरमा इटहरी सुपर किङ्ससँग २ विकेटले पराजित भएको छिन्नमस्ताले दोस्रो अवसरको भरपुर सदुपयोग गर्दै एलिमिनेटर विजेता आरएमएल स्पोर्ट्स एकेडेमीलाई हराएर फाइनल यात्रा तय गरेको हो। अब मंगलबार हुने उपाधि भिडन्तमा छिन्नमस्ता र इटहरी आमनेसामने हुनेछन्।

दोस्रो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ गरेको आरएमएल स्पोर्ट्स एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। उसका लागि अनुभव सिंहले ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मञ्जुल दुबे ४७ रनमा अविजित रहे भने अमरचन्द्रले २९ र चक्रधर द्विवेदीले २५ रनको योगदान दिए। छिन्नमस्ताका लागि पप्पु यादव र फिर्दोस अन्सारीले समान २–२ विकेट लिए।

१७५ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टोलीको जितमा सन्तोष कार्कीले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५७ रनको शानदार अर्धशतक प्रहार गरे। आदिल आलमले २७, राकेश कामतले १९, अभिषेक कार्कीले अविजित १७ तथा नितेश यादवले ६ बलमा १३ रनको महत्वपूर्ण योगदान दिए। अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा छिन्नमस्ताले दबाबबीच संयमित ब्याटिङ गर्दै फाइनलको टिकट काट्न सफल भयो।

आरएमएलका लागि दिपेन्द्र यादव र क्षितिज त्रिपाठीले समान २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

अब प्रतियोगिताको उपाधि भिडन्तमा अपराजित लयमा रहेको इटहरी सुपर किङ्स र पुनरागमन गर्दै फाइनल पुगेको छिन्नमस्ता लायन्सबीच मंगलबार प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायरमा इटहरीले छिन्नमस्तालाई २ विकेटले पराजित गरिसकेको छ। त्यसैले छिन्नमस्ता उक्त हारको बदला लिँदै उपाधि उचाल्ने लक्ष्यमा हुनेछ भने इटहरी अपराजित यात्रालाई कायम राख्दै च्याम्पियन बन्ने दाउमा रहनेछ।

प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख ५१ हजार रुपैयाँ, उपविजेताले १ लाख २५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।