सुनसरी – कोसी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि फेयर फुटबल क्लब धरानले जितेको छ।

इटहरी–९ स्थित प्रदेशिक रंगशालामा शनिबार सम्पन्न रोमाञ्चक फाइनलमा इलामको आत्मा पवित्र एफसी मासेबुङलाई १–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधिमाथि कब्जा जमाएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीतर्फ उन्मुख भइरहेका बेला धरानकी वैकल्पिक खेलाडी समिक्षा याख्या नायक बनिन्।

खेलको ५९औँ मिनेटमा यामकुमारी विकको स्थानमा मैदान प्रवेश गरेकी समिक्षाले इन्जुरी समयमा थप गरिएको तीन मिनेटको अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाइन्। जेनिफर राणाले उपलब्ध गराएको उत्कृष्ट पासलाई उनले सहजै जाली चुमाएकी थिइन्।

निर्णायक गोलसँगै धरान च्याम्पियन बनेको हो। उत्कृष्ट प्रदर्शन गरेकी समिक्षा फाइनल खेलको 'प्लेयर अफ द म्याच' घोषित हुँदै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भइन्।

उपाधिसँगै फेयर फुटबल क्लब धरानले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता आत्मा पवित्र एफसी मासेबुङ इलामले १ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो।

व्यक्तिगत विधातर्फ धरानकी उषा थापा उत्कृष्ट गोलकिपर घोषित भइन् भने प्रतियोगिताभर तीन गोल गरेकी इलामकी वर्षा ओली सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बनिन्। उनीहरूले जनही ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यस्तै प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) धरानकी कप्तान प्रजिता राई घोषित भइन्। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार हात पारिन्।

विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्याल, एन्फा कोशीका उपाध्यक्ष शिव न्यौपाने, एन्फा सुनसरीका वरिष्ठ उपाध्यक्ष भेषराज कार्की लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए।

फाइनल पुग्ने क्रममा इलामले आयोजक इटहरी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने धरानले सृजनशील महिला फुटबल क्लब तेह्रथुमलाई हराउँदै उपाधि भिडन्त तय गरेको थियो।

असार १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ८ टोली सहभागी भएका थिए। कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा इटहरी फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताले महिला फुटबलको विकास, प्रतिभावान खेलाडीको पहिचान र प्रदेशस्तरमा महिला फुटबललाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।