इटहरी । विद्यार्थीलाई सिप र सिर्जनशीलता विकास गर्न राष्ट्रिय माध्यमिक विद्यालयले ‘उत्सव २०८३’ कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयका विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट तथा तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्का विद्यार्थी तथा कक्षा १० सम्मका विद्यार्थीहरूले विषयगत विधागत प्रतिभा प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा शैक्षिक, वैज्ञानिक, साहित्यिक, प्राविधिक तथा उद्यमशीलतासँग सम्बन्धित आकर्षक सामग्रीहरू प्रस्तुत गरियो ।
प्रर्दशनीमा विद्यार्थीहरुले आयमूलक तथा सीपमूलक स्टल सञ्चालन गरेका थिए । ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजना अन्तर्गत छनोट भएका १० समूहका विद्यार्थीहरूले स्टल राखेका हुन ।
इन्स्योर÷हेल्भेटास परियोजनाको आर्थिक सहयोगमा इटहरी उपमहानगरपालिकामार्फत प्रत्येक समूहलाई पाँच–पाँच हजार रुपैयाँ उपलब्ध गराइएको थियो । तीमध्ये लस्सी बिक्री गर्ने समूहले पहिलो दिनमै १४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए।
‘विद्यार्थीहरूलाई अध्ययनसँगै सीप, श्रम र उद्यमशीलताको महत्व बुझाउँदै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,’ प्रधानाध्यापक बस्नेतले भने, ‘प्रतिभा पलायनको चुनौती बढिरहेका बेला यस्ता कार्यक्रमले विद्यार्थीलाई स्वदेशमै अवसर खोज्न उत्प्रेरित गर्छ ।’

कुल २८ वटा स्टलमध्ये १८ वटा स्टलमा बाल क्लब, स्काउट, ग्रीन क्लब, जुनियर रेडक्रस सर्कल, होटल म्यानेजमेन्ट, नेपाली भाषा तथा साहित्य, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन लगायतका विषयगत प्रदर्शनी समेटिएका थिए ।
सो क्रममा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत कमाउँदै पढ्दै परियोजनामा तयार गरिएका कपी पनि विक्रीका लागि राखिएको थियो । त्यसबाट पनि विद्यार्थीले मनग्ये आम्दानी गरेको कार्यक्रम संयोजक युवराज काफ्लेले बताए ।
सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उत्कृष्ट माध्यमका रूपमा यस्ता प्रदर्शनीलाई लिन सकिने बताए ।
प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, अभिभावक, स्थानीय बासिन्दा तथा विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

















