सुनसरी — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा निजी विद्यालयहरूले समग्र रूपमा राम्रो नतिजा ल्याएको दाबी गरिरहँदा निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सनका नेताहरू आबद्ध विद्यालयकै नतिजा भने अपेक्षाअनुसार देखिन सकेन ।
प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा आबद्ध पशुपति बोर्डिङ स्कुलबाट यस वर्ष कुनै पनि विद्यार्थीले ४ जीपीए ल्याउन सकेनन् ।
त्यस्तै प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकाल सञ्चालक रहेको इटहरीस्थित मकालु बोर्डिङ स्कुलबाट पनि कुनै विद्यार्थीले ‘ए प्लस’ अर्थात् ४ जीपीए हासिल गर्न सकेनन् ।
यस्तै, प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारीको युनिभर्सल एकेडेमीबाट समेत यस वर्ष ४ जीपीए आउने विद्यार्थी रहेनन् ।
प्याब्सन इटहरी नगर अध्यक्ष सूर्यमणि निरौलाको शिखर एकेडेमीबाट पनि कुनै विद्यार्थीले ४ जीपीए ल्याउन नसकेको तथ्यांकले देखाएको छ ।
शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका व्यक्तिहरूकै विद्यालयमा उत्कृष्ट नतिजा नआएपछि निजी विद्यालयको गुणस्तर, पढाइको वास्तविक अवस्था र ‘ब्रान्डिङ’ केन्द्रित शिक्षामाथि समेत प्रश्न उठ्न थालेको छ ।
विशेषगरी पछिल्ला वर्षहरूमा निजी विद्यालयहरूले आकर्षक प्रचार, भौतिक पूर्वाधार र अंग्रेजी माध्यमलाई प्राथमिकतामा राखे पनि शैक्षिक उपलब्धि भने अपेक्षाअनुसार हुन नसकेको अभिभावकहरूको गुनासो रहँदै आएको छ ।
यस वर्षको एसईई नतिजाले त्यसलाई थप पुष्टि गरेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।
यद्यपि विद्यालय सञ्चालकहरू भने एसईईको मूल्यांकन केवल ४ जीपीएबाट मात्र गर्न नमिल्ने तर्क गर्छन् ।
उनीहरूका अनुसार समग्र उत्तीर्ण प्रतिशत, विद्यार्थीको सिकाइ क्षमता र अतिरिक्त गतिविधिमा सहभागिता पनि विद्यालय मूल्यांकनका महत्वपूर्ण आधार हुन् ।

















