सुनसरी : सुनसरीको इटहरीस्थित धरान लाइनमा रहेको पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ।
धरान रोडमा रहेको क्याफेको भान्साबाट बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको यकिन विवरण अझै सार्वजनिक भएको छैन।
आगो नियन्त्रणका लागि धरान, इनरुवा र रामधुनी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो।
यता, इटहरी उपमहानगरपालिकाका दुवै दमकल जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेर नष्ट भएपछि अहिले नगरमा दमकल अभाव देखिएको छ।
आन्दोलनपछि पनि दमकल व्यवस्थापन हुन नसकेको भन्दै स्थानीयवासी असन्तुष्ट देखिएका छन्।

















