सुनसरी । विश्वव्यापी स्वास्थ्य चुनौतीको रूपमा उदाएको एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् प्रतिरोधी जीवाणु सङ्क्रमणले नेपालको स्वास्थ्य प्रणालीमा गम्भीर असर पार्ने र मृत्युदर बढाउने विज्ञहरूले औँल्याएका छन् ।
प्रतिरोधी जीवाणुको बढ्दो जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका बाहिर पहिलो पटक धरानमा शनिवार आयोजित राष्ट्रिय कार्यशालामा विज्ञहरूले एएमआरलाई विश्वव्यापी जनस्वास्थ्यका लागि तीव्र गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै तत्काल सम्भावित कदम चाल्न आवश्यक भएको निष्कर्ष निकालेका छन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फिजिसियन्स फर सोसल रेस्पोन्सिबिलिटी नेपालले प्रतिष्ठानकै माइक्रोबायोलोजी विभाग र औषधि विज्ञान विभागसँगको सहकार्यमा आयोजित कार्यक्रममा बिपी प्रतिष्ठान, विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल फ्लेमिङ कोष, तथा राष्ट्रिय स्तरका विज्ञहरूको उपस्थितिमा विशेषज्ञ प्रस्तुतीकरण, समूहगत छलफल तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।
कार्यक्रममा नेपालमा एएमआरको अवस्था, चिकित्सा शिक्षा तथा स्वास्थ्य संस्थाहरूको भूमिका, एन्टिबायोटिकको दुरुपयोगका कारणहरू र नियन्त्रणका उपायबारे अद्यावधिक जानकारी सार्वजनिक गरिएको थियो ।
सहभागी विज्ञहरूले एएमआर नियन्त्रणका लागि उत्तरदायी एन्टिबायोटिक प्रयोग, जनचेतना विस्तार, अनुगमन प्रणाली सुदृढीकरण, तथा बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । “अहिले नै कार्य गर्नुहोस् हाम्रो वर्तमान सुरक्षित गर्नुहोस्, हाम्रो भविष्य सुरक्षित गर्नुहोस् !” भन्ने मुख्य विषय सहित आयोजित कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूका विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान माइक्रोबाइलोजी विभागकी डा. श्रद्धा सिवाकोटी, प्राडा. वसुधा खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उसा तन्डुकार, नेपाल फ्लेमिङ कोषका प्राडा. रितु अमात्य लगायतले नेपालमा एन्टिबायोटिकको बढी प्रयोग र गलत प्रयोग एएमआर बढ्ने मुख्य कारण रहेको औँल्याए ।
यसबाहेक, देशमा स्वास्थ्य सेवा प्रणाली कमजोर हुनु, रोग नियन्त्रण गर्ने उपायको कमी, निगरानी प्रणाली पर्याप्त नहुनु, र नियमन कमजोर हुनु जस्ता कारणले पनि एएमआर वृद्धि भइरहेको उनीहरूको भनाई थियो ।
कृषि तथा पशुपालनमा पनि एन्टिबायोटिकको प्रयोग धेरै हुने र त्यसको कारण खाना र वातावरणमा यान्टिबायोटिकका अवशेष तथा प्रतिरोधी जीवाणुहरू फैलिरहेको उनीहरूको निष्कर्ष थियो ।