विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेकाे  स्मृति इङ्ग्लिस बोर्डिङ स्कूलमा सोमबार तीजको अवसर पारेर भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न तीज गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए। रंगीचंगी परम्परागत पोशाकमा सजिएका बालबालिकाहरूको नृत्यले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। उनीहरूले तीजको ऐतिहासिक, सांस्कृतिक महत्व झल्काउने गीत तथा प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी बालबालिकाले समूहगत नृत्यदेखि लिएर एकल प्रस्तुति समेत दिएका थिए।
विद्यालयकी प्रधानाध्यापक रिता न्यौपानेले कार्यक्रममा सम्बोधन गर्दै तीजजस्ता पर्वले नेपाली समाजमा आपसी सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने भएकाले बालबालिकामा पनि यसको महत्व बुझाउन यस्ता कार्यक्रम अपरिहार्य भएको बताइन्। उनले भनिन्, विद्यालयीन जीवनमै संस्कृति र परम्परासँग बालबालिकालाई परिचित गराउँदा उनीहरूको सामाजिक ज्ञान र सिर्जनात्मकता दुवै विकास हुन्छ।”
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो। विद्यालयले प्रत्येक वर्ष यसरी पर्व विशेष कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।