विराटनगर। कोसी प्रदेशमा भएका केही सामूहिक हत्याका घटनाले आम नागरिकलाई भयभीत बनाएको छ। अपराधका त्यस्ता घटना घटाउने व्यक्तिहरू समेत परिवार भित्रैका सदस्य भएको समेत देखिएका छन् ।  सामूहिक हत्याका घटनाका केही तथ्यहरूलाई हेरौँ ।

घटना १

भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ को धोद्लेखानीमा गत असार २१ गते राती एउटा घटना घट्छ ।  एकै परिवारका चार जनाको हत्या हुन्छ ।  घटनाको बारेमा  स्थानीयले बिहान मात्रै थाहा पाउँछन् । पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । भोजपुर नगरपालिका–२ हेलाउँछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर पत्नीसहित उनका माइती पक्षका चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ।  राजेन्द्रले १६ वर्षीय श्रीमती मनिषा गिरी,  ९ वर्षीय सालो सपन गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी र ४५ वर्षीय ससुरा मञ्जु गिरीको हत्या गरेर उनै राजेन्द्रले प्रहरीलाई खबर गर्छन् । 

घटनाको जानकारी पाएपछि प्रहरीको टोली आइतबार बिहान सबेरै घटना स्थलमा पुगेर राजेन्द्रलाई नियन्त्रणमा लिन्छ । अहिले राजेन्द्रको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  

घटना २

२०७६ साल जेठ ७ गते मङ्गलवारको दिन पाँचथर जिल्लामा एउटा बीभत्स घटना घट्छ ।  मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामूहिक हत्या हुन्छ । प्रकरणमा मृतककै आफन्तको संलग्नता भेटिन्छ ।  सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित रुखमा झुन्डिएको अवस्थामा मानबहादुर माखिमले परिवारका सबैलाई हत्या गरेर आफ रुखमा झुन्डिएको प्रहरीले अन्तिम निष्कर्ष निकाल्छ । 

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।  हत्या गरिएकामा ३६ वर्षीय अस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीय मनकुमारी फियाक, ६ वर्षीय इक्सा शेर्मा, १३ वर्षीय योवना शेर्मा, आठ वर्षीय मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, १२ वर्षीय आशिका खजुम लिम्बूको लगायतको बीभत्स हत्या भएको थियो । १२ वर्षीय सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् ।  मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । 

घटना ३

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा २०७८ भदौ २१ गते एउटा परिवारको सामूहिक हत्या हुन्छ ।  घरमा रहेका ५२ वर्षीय तेजबहादुर कार्की सहित ६ जनाको शव घरबाहिर फेला पर्छ ।  ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीय गोमा कार्कीको २०७८ साल भदौ २१ गते  व्यक्तिगत रिसिविका कारण उनीहरूको हत्या भएको प्रहरीले पुष्टि गर्छ । उनीहरूको शव घरबाहिर चार ठाउँमा फेला परेको थियो ।  यो घटनामा पनि परिवारका एक जना सदस्य जीवित फेला परेका थिए ।  बौद्धमान कार्की सकुशल फेला परेका थिए ।  घटनामा छोरा २८ वर्षीय लोकबहादुर कार्कीले नै घटना घटाएको निष्कर्षमा प्रहरी पुग्छ । एकै परिवारको ६ जनाको हत्या गरिएको घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरू १७ वर्षीय नरेश, लोकबहादुर, तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय भएको छ । हत्यामा संलग्नहरू तेजबहादुरकै दाजुभाइ हुन् ।

चालु आर्थिक वर्षमा धेरै घटना

माथिका यी तीन वटा उदाहरणले  ठुला खालका सामूहिक हत्यामा परिवारकै संलग्नता हुने गरेको पुष्टि गरेको छ।  कोसी प्रदेशमा पछिल्लो एक दशकको अवधिमा धारिलो हतियार प्रयोग गरी भएका हत्या घटनाको सङ्ख्या बढ्दै गएको देखिएको छ। कोसी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार  प्रदेशस्तरीय तथ्याङ्क अनुसार, २०७६।०७७ देखि २०८१।०८२को असार २५ गतेसम्म १ हजार १६ वटा  धारिलो हतियार प्रयोगसँग सम्बन्धित घटना भएको छ। जसमा ३८ जनाको मृत्यु भएको छ । १६३ जना सामान्य घाइते, ३३ जना गम्भीर, १९२ जना मध्यम घाइते भएका थिए । यी घटनाहरूमा ७०२ जना पक्राउ गरेका छन् भने ३६२ जना अझै फरार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कमा देखिन्छ । चालु आर्थिक वर्ष २०८१।०८२ मा सबैभन्दा धेरै २४२ घटनामा १४ जनाको मृत्यु, १०२ जना सामान्य, ११६ जना मध्यम, १५ जना गम्भीर, १९० जना पक्राउ परेकोमा ६६ जना फरार रहेका छन् । 

यो समयावधिमा हत्यामा प्रयोग भएका धारिलो हतियारले मृत्युदर मात्र नभई अपराधको प्रकृति र संलग्नताको स्वरूप पनि भयावह देखिन्छ ।  धेरै व्यक्तिको हत्यामा एकै जनाको संलग्नताबाट पनि भएको माथिको उदाहरणले पुष्टि गरेको छ भनेँ हत्यामा धेरै व्यक्ति संलग्न भएर एक जनाको हत्या भएका घटनाहरूले देखाएको छ । कोसी प्रदेशमा केही हत्या घटनाहरूमा एकै व्यक्तिको हत्यामा धेरै व्यक्तिहरूको संलग्नता देखिएको छ।  २०८० वैशाखमा इटहरी उपमहानगरपालिका–२० मा ६ जनाको संलग्नतामा एक जनाको हत्या भएको थियो । २०८२ जेठ १२ गते  धरान उपमहानगरपालिका–६मा पाँच जनाको संलग्नतामा भएको हत्या र इलाम फाकफोकथुम गाउँपालिका–३ मा २०८१ चैत ८ गते भएको घटनामा दुई जना संलग्न भएर एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । 

एउटै व्यक्तिबाट धेरैको हत्या भएको घटनामा केही दिन अघि भएको भोजपुरमा एकै परिवारको ४ जनाको हत्या भएको घटना, २०७९ सालमा मोरङको मिक्लाजुङमा ३ जनाको हत्याको घटना, २०७६ सालमा पाँचथरको आरुबोटेमा भएको घटनामा ९ जनाको हत्या भएको घटना र २०७९ सालमा उदयपुरको बेलका नगरपालिका ६मा तीन जनाको बीभत्स हत्यामा  एकै जनाले हत्या गरेको प्रहरीले जनाएको छ। 

यसरी भएका घटनामा पारिवारिक तथा सम्पत्ति विवाद, मानसिक रोग, सामाजिक प्रतिष्ठाको द्वन्द्व, लागूपदार्थको सेवन, योजनाबद्ध बदनियत र गिरोह संलग्नता प्रमुख कारणका रूपमा देखिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक इश्वर कार्कीले जानकारी दिए ।  उनले भने, ‘केही घटनाहरू आकस्मिक र आवेगमा भए पनि, धेरैजसो योजनाबद्ध तथा सङ्गठित अपराधमै केन्द्रित भएको देखिन्छ ।’ 

यस्ता घटनाहरूमा धेरै बालबालिकालाई समेत लक्षित गरिएको छ। पाँचथर, सङ्खुवासभा र भोजपुर र उदयपुरको घटनामा १० वर्ष भन्दा कम उमेरका धेरै बालबालिकाको हत्या भएको छ ।  महिला र बालबालिकालाई लक्षित गरी भएको हत्या घटनाले पनि समाजमा गहिरो संवेदनशीलताको प्रश्न उब्जाएको छ।  हत्या र हिंसाका घटनाहरू प्रदेशको शान्ति सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा देखा परेका छन्। घटनाहरूको विश्लेषणले मानसिक स्वास्थ्य, सामाजिक दबाब तथा कमजोर अपराध नियन्त्रण संयन्त्रजस्ता विषयलाई उजागर गर्छ।

उनले भने, ‘केही घटनाहरू आकस्मिक र आवेगमा भए पनि, धेरैजसो योजनाबद्ध तथा सङ्गठित अपराधमै केन्द्रित भएको देखिन्छ ।’

यस्ता घटनाहरूमा धेरै बालबालिकालाई समेत लक्षित गरिएको छ। पाँचथर, सङ्खुवासभा र भोजपुर र उदयपुरको घटनामा १० वर्ष भन्दा कम उमेरका धेरै बालबालिकाको हत्या भएको छ ।  महिला र बालबालिकालाई लक्षित गरी भएको हत्या घटनाले पनि समाजमा गहिरो संवेदनशीलताको प्रश्न उब्जाएको छ।  हत्या र हिंसाका घटनाहरू प्रदेशको शान्ति सुरक्षाका लागि गम्भीर चुनौतीका रूपमा देखा परेका छन्। घटनाहरूको विश्लेषणले मानसिक स्वास्थ्य, सामाजिक दबाब तथा कमजोर अपराध नियन्त्रण संयन्त्रजस्ता विषयलाई उजागर गर्छ।