विराटनगर । मारवाडी युवा मञ्च बिराटनगरले ‘आमाको माया छात्रावास’का विद्यार्थीहरूका लागि सेन्ट्रल मल्टिप्लेक्समा बलिउड चलचित्र सीतारे जमीं पर को विशेष शोको आयोजना गरेको छ। विद्यार्थीहरूको मनोरञ्जनसँगै शिक्षाप्रद सन्देशका लागि गरिएको यस कार्यक्रममा छात्रावासका विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
मारवाडी युवा मञ्चका अध्यक्ष मोहित लालवानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष शिवरतन जोशी, शेरसिंह दुगड, आमा को माया छात्रावासका अध्यक्ष बिजय लखोटिया, मारवाडी महिला मञ्च बिराटनगरकी अध्यक्ष सरिता लालवानी, सदस्य प्रेम दुगड, सेन्ट्रल मल्टिप्लेक्सका प्रबन्धक सत्यप्रकाश लुनिया लगायत युवा मञ्चका अन्य सदस्यहरूको समेत उपस्थिति थियो।
कार्यक्रमलाई सफल बनाउन मञ्चका सदस्य तथा संयोजक योगेश अग्रवालले विशेष भूमिका निर्वाह गरेका थिए।
मारवाडी युवा मञ्च बिराटनगरले २०४९ सालदेखि सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न गतिविधिहरू गर्दै आएको छ।