इटहरी  । सुनसरी र मोरङका विभिन्न विद्यालयमा अध्ययनरत दुई सय बढी विद्यार्थी स्काउटरको रूपमा दीक्षित भएका छन् । 

इटहरी उपमहानगरपालिका भित्रका २२ विद्यालय र विराटनगर महानगरपालिकाका २ वटा विद्यालयका विद्यार्थीहरू दीक्षित भएका हुन । जसमध्ये श्री राष्ट्रिय माध्यमिक विद्यालयका मात्रै १३९ जना विद्यार्थी दीक्षित भएका हुन । 

श्री राष्ट्रिय माध्यमिक विद्यालय स्काउट ट्रुपले पर्यटकीय स्थल ताल तलैयामा कार्यक्रम आयोजना गरेको हो । 
 जसमा इटहरी क्षेत्रका पाँच वटा सामुदायिक विद्यालय र अरू निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षक वन्दना दाहालले बताइन् । कार्यक्रममा विराटनगर क्षेत्रका दुई वटै सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । 

कुल ८५६ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा फ्रेन्डसिप हाइक एण्ड कुकिङ् प्रतियोगितामा बाल विकास बोडिङ् स्कुल इटहरीका विद्यार्थीको टोली प्रथम भएको थियो । 

यस्तै, विनायक स्कुल विराटनगर दोस्रो, सगरमाथा फुजिसन स्कुल इटहरी तेस्रो र सरस्वती माध्यमिक विद्यालय बौकाझोडाका विद्यार्थीको टोली सान्त्वना भएका थिए ।

 कुकिङ् प्रतिस्पर्धाको होटल एण्ड म्यानेजमेन्ट विषयका प्रशिक्षक हिमाल बस्नेत निर्णय रहेका थिए ।
कार्यक्रम हुनुअघि राष्ट्रिय माध्यमिक विद्यालयदेखि ताल तलैयासम्म झन्डै पाँच किलोमिटर विद्यार्थीहरूले स्काउट ड्रेसमा पैदल यात्रा समेत गरेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए  ।

 कार्यक्रममा स्काउट कोशी प्रदेश समितिका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो । 

सो क्रममा स्काउट इटहरीका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, धरानका आयुक्त मधुसूदन घिमिरे, इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की रतन, श्री राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, प्रधानाध्यापक सरणकुमार बस्नेत, ताल तलैया संरक्षण समितिका अध्यक्ष गंङगबहादुर राय क्षेत्री, ताल तलैया संरक्षण समिति सदस्य टंक दाहाललगायतको सहभागिता रहेको थियो  ।

स्काउटको कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र सामाजिक जिम्मेवारीको भावना प्रगाढ बनाउन सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेतले बताए ।