विराटनगर । विराटनगरमा ४२ औँ युवा तथा जुनियर रेडक्रस सर्कल गोष्ठी सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालयमा दुई दिनसम्म चलेको गोष्ठीमा मोरङ जिल्ला भित्रका १०४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका युवा तथा जुनियर रेडक्रस सर्कलका संरक्षक, शिक्षक नायक तथा दुई जना विद्यार्थी सहित ४१६ जना सहभागी थिए । विद्यालयका प्रतिनिधि, रेडक्रस उपशाखाका प्रतिनिधिहरू, जिल्ला रेडक्रस शाखाका पदाधिकारी तथा सदस्यहरू, रेडक्रस कर्मचारीहरू, आदर्श माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सहित ७०० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका थिए ।
मेयर कोइरालाले एक दुई विद्यालय मात्र नभई सबै विद्यालयहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्न सक्नु पर्ने बताए । उनले भने, ‘विद्यार्थीहरूलाई पाठ्यपुस्तकको ज्ञान सहित सामाजिक सेवा, विपद् व्यवस्थापन तथा परोपकारी कार्यहरूमा लाग्न प्रेरित गर्नुपर्छ ।’ कोइरालाले सबै विद्यालयहरूमा युवा रेडक्रस सर्कलका कार्यक्रमहरू सञ्चालन हुनु पर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालबालिकाहरूले विभिन्न विपद् व्यवस्थापनका अभ्यास तथा त्यस्ता कार्यहरू गर्न सानैदेखि सिक्नु पर्ने बताए । दुई दिनसम्म सञ्चालन भएको उक्त आवासीय कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूले रेडक्रस र यसले गर्ने कार्यहरू तथा विपद् व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयहरूमा प्रशिक्षण लिएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, रेडक्रस मोरङ जिल्ला शाखाका सभापति शुकदेव मण्डल, आदर्श माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास पराजुली लगायतले कार्यक्रमको प्रशंसा गरे।
विराटनगर महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेको कार्यक्रमको अध्यक्षता आदर्श माध्यमिक विद्यालय युवा रेडक्रस सर्कलका अध्यक्ष प्रसिद्धि भट्टराइले गरेका थिए । कार्यक्रममा वर्षभरिमा विभिन्न प्रतिस्पर्धामा भाग लिएका विद्यालय, विद्यार्थी भाइबहिनीहरूलाई पुरस्कृत गरिएको आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।