विराटनगर । विराटनगरमा मानव बेचबिखन तथा ओसारपसार र बालविवाह विरुद्ध विद्यार्थीहरूसँगको अभिमुखी कार्यक्रम विभिन्न विद्यालयहरूमा सम्पन्न भएको छ। विराटनगर महानगरपालिकाका  विद्यालयलाई लक्षित गरी अभिमुखीकरण सञ्चालन गरिएको हो। विराटनगर महानगरपालिकाको सहयोगमा माइती नेपालले बालबालिका लक्षित कार्यक्रम सुरु गरेको जनाएको छ।  माइती नेपालले शुक्रवार  बाल माध्यमिक विद्यालय जतुवा , जेष्ठ ६ गते श्री माध्यमिक विद्यालय कञ्चनबारी  र मदरसा असर्फीया इस्लामिक उलुम विद्यालय विराटनगर १७ मा जेठ ४ गते प्रशिक्षण दिइएको माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए। सीमा क्षेत्रबाट हुने मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण गर्ने उपायहरूसहित बालबालिकालाई प्रशिक्षण गरिएको थियो। साथै विवाहका नाममा किशोरीहरू जोखिममा पर्ने भन्दै सानै उमेरमा हुने विवाहलाई निरुत्साहित गर्दै जानुपर्नेमा बालबालिकाहरूलाई प्रशिक्षण गरिएको थियो। अभिमुखीकरणको सहजीकरण माइती नेपालका मनोपरामर्शकर्ता गीताञ्जली शर्माले गरेकी थिइन् ।

IMG-20250523-WA0030
विराटनगर महानगरपालिकाका महिला बालबालिका महाशाखा प्रमुख  मञ्जु लोहनीले विद्यालय स्तरबाट बालबालिकाहरू यो अभियानमा लाग्ने हो भने बालविवाहको अन्त्य हुने  दाबी गरिन्। विद्यालयका बाल क्लबहरूको सक्रियतामा धेरै राम्रा कामहरू भएको स्मरण गर्दै माथिल्ला कक्षाका विद्यार्थीहरू सामूहिक रूपमा लाग्दा बालविवाह अन्त्य हुने मात्र होइन अभियानले सीमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न सक्ने बताइन् । विभिन्न विद्यालयमा भएको प्रशिक्षणबाट २५० जना विद्यार्थी अभिमुखीकरणमा जोडिएको माइती नेपालले जनाएको छ।