विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको स्मृति बोर्डिङ स्कुलले बाइसौँ वार्षिक उत्सव मनाएको छ। मङ्गलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो।
स्थापना दिवसको अवसर पारेर विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्मका प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। त्यस्तै विद्यालयमा भर्ना हुन आएका ९३ जना नयाँ विद्यार्थीको स्वागत गर्नुका साथै नयाँ शिक्षकहरूलाई समेत स्वागत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि ब्लुमिङ मन्टेस्वरीका सञ्चालक स्मृति सापकोटाले बालबालिकाको समग्र वृत्ति विकासका लागि स्मृति बोर्डिङ स्कुलले खेलेको भूमिकाको प्रशंसा गरिन् ।
विद्यालयका प्रधानाध्यापक रिता न्यौपानेले स्मृति बोर्डिङ स्कुलले यो अवधिमा स्मार्ट बोर्डमार्फत समेत पठनपाठन सुरु गरिसकेको जानकारी दिइन् । विद्यालयले डिजिटल डिस्प्ले बोर्डमार्फत ६ वटा कक्षामा पठनपाठन हुन थालेको, बाल क्लब मार्फत बालबालिकाका अतिरिक्त क्रियाकलापहरूलाई व्यवस्थित गरिएको जानकारी दिँदै विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली तथा थारु अर्थात् मातृभाषा पनि जान्नुपर्छ भनेर त्यही अनुसारले सिकाउने गरिएको उल्लेख गरिन्। सङ्घर्षका बिच यहाँसम्म आइपुगेको विद्यालयलाई अभिभावकहरूले सहयोग गरेकोमा अभिभावकको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयले खेलकुद गतिविधिलाई तीव्र पार्ने प्रतिबद्धता जनाइन्। यो वर्षदेखि नै खेलकुदमा भलिबल, बास्केटबल र कराँते पनि सञ्चालनको तयारी गरिएको जानकारी दिइन् ।
उनले सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको दाबी गर्दै महँगो शुल्क लिएर पढाउने विद्यालय हुन् वा सुलभ मूल्यमा विद्यार्थीलाई पढाउने विद्यालय नै किन नहुन् उनीहरूले पढाउने विषयवस्तु एउटै भएको दाबी गरिन् ।

















