विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्र भित्रका महिलाहरूको अवस्थाको बारेमा स्थिति पत्ता लगाउनेस्थिति पत्ता लगाउने गरी काम सुरु गरेको छ । विराटनगर महानगरपालिका महिला बालबालिका शाखा मार्फत महिलाहरूको अवस्था पत्ता लगाउने स्थिति प्रतिवेदन तयार पर्ने काम सुरु गरेको हो । विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको योजना अनुसार विराटनगर भित्रको कस्ता महिलाहरूको सङ्ख्या बढी रहको छ, उनीहरूको अवस्था कस्तो छ, रोजगारी, शिक्षा, स्वास्थ्य लगायत गृहिणी महिला देखि बाहिर निस्किएका महिलाको तथ्याङ्क समेत तयार पारी सार्वजनिक गर्ने तयारी रहेको महानगरपालिका महिला बालबालिका महाशाखा प्रमुख मञ्जु लोहनीले बताइन्  ।
manju lohani
अहिले त्यसको गृहकार्य सुरु भएर काम अघि बढेको छ ।  २ लाख ४३ हजार ९२७ विराटनगरको  जनसङ्ख्या मध्ये १ लाख २१ हजार ७ सय ५३ जना महिला छन्  । यो सङ्ख्याका महिलाहरू  के गर्दै छन्, उनीहरूको अवस्था, शैक्षिक योग्यता, राजनीति, सामाजिक र आर्थिक अवस्थाको बारेमा स्थिति प्रतिवेदन सङ्कलन गर्ने तयारी भएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । यो अभियान केही वडाबाट नमुनाको रूपमा सुरु गरिने र १९ वटै वडामा पुग्ने उनको भनाई छ । 
पालिकाले तयार पार्ने स्थिति प्रतिवेदनमा महिलाहरूले महानगरपालिकालाई कसरी बुझेका छन्, स्थानीय तह प्रतिको अपेक्षा कस्तो रहेको छ भन्ने समेत समेटिने उनले बताइन् । स्थिति प्रतिवेदन तयार पार्नको महानगरपालिकाले कार्यशाला सकेर अहिले घरदैलो सुरु गरेको छ।  स्थिति प्रतिवेदन आगामी जेठ मसान्तभित्र तयार गरी सार्वजनिक गर्ने लक्ष्य रहेको छ । महानगर क्षेत्रभित्र बसोबास  गर्ने महिलाको पारिवारिक, आर्थिक, वैवाहिक, पेसा, व्यवसाय, रोजगारी, जातीय, राजनीतिलगायतको अवस्थाका विषयमा स्थिति प्रतिवेदन तयार पार्ने कामको विज्ञहरूले समेत प्रशंसा गरेका छन्  ।
mahila
समाजशास्त्री डा. चन्द्र उपाध्यायले महानगरपालिकाले महिलाको अवस्थाको बारेमा स्थिति पत्र तयार पारि त्यसको आधारमा क्षेत्रगत बजेट विनियोजन गर्न सके यो निक्कै प्रभावकारी हुने बताए । 
सबै वडामा पुगेर महिलाको स्थिति पत्र तयार पार्ने गरी सुरु भएको यो कामबाट महिलाको अवस्था के रहेछ भनेर स्थिति प्रतिवेदनले स्पष्ट पार्ने अपेक्षा लिइएको छ ।  स्थिति प्रतिवेदनको आधारमा आगामी वर्षहरूमा महिलाको क्षेत्रमा कति बजेट कुन शीर्षकमा छुट्याउने भनेर बजेट विनियोजनमा समेत सहज हुने उपमेयर कार्कीले जानकारी दिइन् । 
shilpa
 प्रतिवेदनको स्थिति सूचकका आधारमा सुधार गर्नु पर्ने क्षेत्रमा महानगरपालिकाले लगानी बढाउने जनाएको छ। अहिले वडा वडामा तथ्याङ्क सङ्कलनको लागि टोली परिचालन गरेर काम थालिएको महानगरपालिकाले जनाएको छ ।  विद्यार्थीलाई परिचालन गरेर प्रशिक्षण पछि वडा वडामा सफ्टवेयर सिस्टमबाट तथ्याङ्क सङ्कलनको काम भइरहेको विराटनगर महानगरपालिकाका  मेयर नागेश कोइरालाले बताए ।  महानगरपालिका आफैँले सुरु गरेको यो काम अन्य पालिकाले समेत सिक्नु पर्ने उदाहरणीय कामको रूपमा रहेको भन्दै महानगरको प्रशंसा हुँदै आएको छ ।