विराटनगर । विराटनगरकी जुना तिम्सिना बिहान १० नबज्दै विराटनगर महानगरपालिकाको कार्यालय पुग्छिन् । कार्यालयमा पुगेपछि राजश्व महाशाखा प्रमुख सरोज गौतमलाई भेट्छिन् । महाशाखा प्रमुख गौतमले केही फारमहरू दिन्छिन् । अनि फारमहरू लिएर उनी विराटनगर बजार निस्किन्छन् । उनको यो दैनिकी सुरु भएको २ वर्ष भन्दा बढी भयो ।

उनी महानगरले कर शिक्षा लागू गरेपछि स्वयम सेवकको रूपमा महानगरले दिएको कर छुट र जरिवानाको बारेमा जानकारी गराउँदै आएकी छन् ।

उनीसँग ५ जना स्वयंसेवकको टोली पनि छ । टोलीलाई आवश्यक सहयोग गर्न महानगरले एक जना नगर प्रहरी पनि सँगै खटाउँछ । विराटनगरको ट्राफिक चोक स्थित रेन्बो गल्लीमा तिम्सिना एउटा भाषा, कम्प्युटर सिकाउने इन्सिटच्युटमा आवश्यक कागज पत्र जाँच गर्दै थिइन् ।

उनले इन्स्टिच्युट महानगरमा दर्ता भए नभएको, नवीकरण भए नभएको यकिन गरिन् । दर्ता भएको र नवीकरण पनि भएको कागजपत्र सञ्चालकले देखाएपछि उनले भनिन्, ‘ समयमा कर तिर्नु भयो भने महानगरले छुट दिन्छ ढिला भयो भने जरिवाना र हर्जना लिन्छ । महानगरलाई तिरेको कर तपाइकै लागि खर्च हुन्छ ।’

कोभिड महामारीका कारण आन्तरिक राजश्व सङ्कलनमा भारी गिरावट आएपछि महानगरले कर शिक्षा लागू गरेको हो । कर शिक्षा लागि गर्न महानगरले स्वयंसेवक परिचालन गरेको छ ।

स्वंमसेवक परिचालन गरेर महानगरका सडकका गल्ली गल्लीबाट आवश्यक सूचना र जानकारी सङ्कलन भएपछि विराटनगर महानगरको आन्तरिक राजश्व निरन्तर बढ्न थालेको छ ।

महानगरले कर शिक्षा कार्यक्रम सुरु गरेपछि आन्तरिक राजश्व सङ्कलन सुधारको बाटोमा लागेको छ । आन्तरिक राजश्व सङ्कलनमा सुधारको सङ्केत देखिदा महानगरले राखेको बजेटको लक्ष्य प्राप्ति भेटिने अवस्थामा पुग्न लागेको छ ।

आर्थिक वर्ष ७७/७८ मा महानगरले आफ्नो श्रोतबाट ४१ करोड ४२ लाख १६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । जुन लक्ष्यको ४३ प्रतिशत मात्र हो । ७८/७९ मा भने महानगरको आन्तरिक राजश्व २ करोडले घट्यो । अर्थात् महानगरले आन्तरिक रूपमा ३९ करोड ३५ लाख रुपैयाँ मात्रै सङ्कलन गर्‍यो ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट भने नयाँ जनप्रतिनिधि आए । नयाँ जनप्रतिनिधि आएसँगै महानगरले कर शिक्षा कार्यक्रम लागू गरेको विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतमले बताए ।

उनले करदातालाई महानगरले लिन करका बारेमा सही सूचना पुर्‍याउन महानगरले स्वयमसेवकहरुको सहारा लिएको बताए । उनले भने, हामीसँग जोडिएका स्वंयसेवकहरुले महानगरका घर घर र टोल टोलमा गएर कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाका कुरा गर्छन् । स्वंसेवकहरुले महानगरले कर समयमा कर तिर्दा दिने छुट र म्याद गुजार्दा लिने जरिवाना र हर्जानाका कुरा पनि सुनाउँछन् ।

उनले स्वयंसेवकले महानगरमा सञ्चालनमा आएका व्यापार, व्यवसाय, फर्महरूको को दर्ता नवीकरणको पनि तिनै स्वयम सेवकले चेकजाँच गर्ने गरेको बताए । दर्ता नवीकरण नभए यस्तो तथ्याङ्क समेत सङ्कलन हुँदा करको दायरा बढाउन सहज भएको छ ।

स्वयंसेवक मार्फत महानगरले घर घरमा कर शिक्षा कार्यक्रम पुर्‍याएको एक वर्षमै आन्तरिक राजश्व बढेको छ । ७९÷८०मा महानगरले ६४ करोड रुपैयाँ राजश्व सङ्कलन गर्‍यो । जुन अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँ बढी हो । महानगरले ३१ वटा शीर्षकमा राजश्व उठाउने गर्छ ।

घर बहाल कर, सम्पत्ति कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, घर नक्सा पास बापत दस्तुर महानगरका प्रमुख आन्तरिक श्रोत हुन् ।

यी बाहेक व्यवसाय दर्ता नवीकरण,भूमि तथा मालपोत कर, पार्किङ शुल्क पनि महानगरका आन्तरिक श्रोतहरू हुन् । कर शिक्षा कार्यक्रमले आफूहरूलाई कर तिर्न सहज भएको सेवा ग्राहीहरू बताउँछन् ।

यो भन्दा पहिला करका बारेमा आवश्यक सूचना र जानकारी हुँदैन थियो । स्वयंसेवक परिचालन पछि आवश्यक सूचना पाइन थालेको छ फडिन्द्र पराजुलीले बताए ।

महानगरले कर शिक्षा कार्यक्रम सुरु गरेपछि वर्षौँदेखि उठ्न नसकेको राजश्व समेत उठाएको छ । यति मात्रै होइन विराटनगरमा स्थापना भएर दर्ता नभएका उद्योगहरू समेत महानगरमा दर्ता हुन आएका छन् । कर शिक्षा कार्यक्रमबाट मनोरञ्जन कर बापत महानगरमा सञ्चालनमा भएका फिल्महरूले समेत कर बुझाएका छन् । यसले महानगरको आन्तरिक श्रोत बढ्दो क्रममा छ ।

महानगरले आन्तरिक श्रोत वृद्धिका लागि करको दर बढाएको छैन । बरु करको दर घटाएको छ । करको दर घटाउँदै दायरा फराकिलो बनाउन लागेको महानगरले अघिल्लो यस वर्षको चैत्र १५ गते सम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ लाख रुपैयाँ बढी राजश्व सङ्कलन गरेको छ ।

यसका लागि स्वयम सेवक मात्रै परिचालन गरेको छैन करका बियामा करदातासँग निरन्तर अन्तरक्रिया, छलफल र संवाद गरिरहेको छ।

विराटनगर महानगरका उप मेयर तथा राजश्व परामर्श समितिका संयोजक शिल्पा कार्की आन्तरिक राजश्व वृद्धिका लागि महानगरले करको दर हैन दायरा बढाउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘हामीले करको दर घटाएर पनि राजश्व बढाएका छौ ।यसको प्रमुख कारण हो कर शिक्षा कार्यक्रम ।’

उप मेयर कार्कीले विराटनगर महानगरले स्वयसेवकहरु परिचालन गरेर करको दायरा बढाउन समेत सहज भएको बताइन् ।  उनले  भनिन्, स्वयंसेवक मार्फत कर शिक्षा लागू गरेकाले आन्तरिक राजश्व सङ्कलनमा सहजता भएको छ  ।