सुनसरी - गण्डकी माथि ३-० को सहज जित निकाल्दै कोसी प्रदेश राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बुधवार बिहान भएको खेलमा कोसीले गण्डकी प्रदेशलाई पराजित गर्दै महत्त्वपूर्ण ३ अंक बटुल्यो । यसअघि सुदूरपश्चिम प्रदेश विरुद्ध २-१ तथा   कर्णालीमाथि ३-० को जित निकालेको कोसी ९ अंकको साथ शीर्ष स्थानमा पक्कड जमाउन सफल बनेको हो । दोस्रो स्थानमा रहेको सुदूरपश्चिम र मधेस प्रदेशको समान ३-३ अंक छ । 
anfa koshi 1
     कोसीलाई बुधवार शतप्रतिशत जित दिलाउन समीक्षा मगरले दुई तथा ममता राउतले एक गोल गरिन् । पहिलो हाफको सुरुवाती पांचौ मिनेटमा जोनिफर राणालेले प्रहार गरेको कणर्र बललाई हेड मार्फत समिक्षाले पोस्टको दिशा दिएकी थिइन । खेलको ५१ औँ मिनेटमा समिक्षालेनै उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै ममताले कोसी प्रदेशको लागि दोस्रो गोल गरिन । खेलको अन्तिम ८९ औँ मिनेटमा ममता तामाङको क्रस बललाई समिक्षाले हेड मार्फत उत्कृष्ट गोल गरेपछि कोसीले ३-० को स्पष्ट जीत निकालेको हो । यसअघि सुदूरपश्चिम विरुद्धको खेलमा समेत दुई गोल गरेकी समीक्षा  प्लेयर अफद म्याच समेत भइन । तीन खेलमा चार गोल गरेकी उनी सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन । तीन साताअघि चितवनको भरतपुरमा भएको अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोसीले गण्डकीमाथि ८-० को फराकिलो जीत निकालेको थियो । 
anfa koshi
       ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोसीले अब शुक्रवार लुम्बिनी, आइतबार मधेस र बुधवार बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए । सिङ्गल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिता वैशाख २० गतेसम्म चल्नेछ । छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।