इटहरी । सुनसरीको धरानबाट भोजपुरका लागि छुटेको जिप भोजपुर र उदयपुरको सिमानामा दुर्घटना हुँदा पांँच जनाको मृत्यु भएको छ । १४ जना यात्रु बोकेर भोजपुरको चुहार जाँदै गरेको जिप उदयपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । 
को. १ ज २५९३ नम्बरको उक्त जिप दुर्घटनामा चालक र बाँकी ४ यात्रुको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । १४ जना सवार जिपमा ५ जना मृत्यु भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज पाठकले जानकारी दिए । जिपमा अधिकांश यात्रु भोजपुरकै आम चोक र हतुवा गढी गाउँपालिकाका छन् । घटनास्थलमा उद्धार कार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको डिएसपी पाठकले बताएका छन् ।