विराटनगर । भ्रष्टाचार मुद्दामा मुछिएपछि माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष रेतराज पुरीले राजीनामा दिएका छन् । उनी र उनको परिवार विरुद्ध सार्वजनिक सम्पत्की आफ्नो पारेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । झापाको दमक नगरपालिका–१३ र १४ स्थित बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पुरी सम्पत्की सुद्धिकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा पनि दोषी ठहर भएका छन् । उनी विरुद्ध चार करोडभन्दा बढी सम्पत्तिको स्रोत नखुलेको भन्दै जरिवानासहित सजायको फैसला गरिसकेको छ ।
सम्पत्की सुद्धी करणको मुद्दामा दोषी ठहर भएका पुरीले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् । उनले लेखेको राजीनामा पत्रमा आफ्नो पैतृक जमिनसँग सम्बन्धित भई विशेष अदालतले गरेको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको कारण कोषाध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।
पुरीले पत्रमा आफू निर्दोष भएको पनि जिकिर गरेका छन् । बुबा भगवान् पुरीले २००२ सालदेखि जङ्गल फडानी गरी करिब ६० बिगाहा जमिन जोत भोग गरेको दाबी गर्दै उनले २०२१ सालमा बुवाको नाममा २४ बिगाहा र आमा रुपादेवी पुरीको नाममा ४ बिगाहा १४ कट्टा १० धुर गरी जम्मा २९ बिगाहा १४ कट्ठा १० धुर जग्गाको धन पुर्जा आफ्नो परिवारसँग रहेको दाबी गरेका छन् ।
जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ बमोजिम २०६३–६४ तिर थप हाम्रो परिवार लगायतले दमक नगरभित्रको हाल वडा दमक ५, ६, ८, ९ र १० मा गरी करिब २५ सय घरपरिवारले पुनः नापी टोलीबाट धन पुर्जा प्राप्त गरेको पुरीले राजीनामा पत्रमा दाबी गरेका छन् । उनले पार्टी र सरकारले निष्पक्ष अनुसन्धान गरी समाधान गरिदिन माग गरेका छन् ।
अख्तियारले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेका नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपाने तथा सुरु जग्गा दर्तावाला जग्गाधनी रेतराज पुरी (गगन) सहित १७२ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
उनीहरूले रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ साबिक ’दमक ६ ग’ को सर्पट नापीको समयमा कित्ता नम्बर ७६०–१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक ६ग र दमक ५ख बिचको मार्जिनका सरकारी जग्गाहरू व्यक्तिको नाममा घुसाएर हालसाबिक प्रक्रियाबाट दर्ता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
