सुनसरी । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक गर्ने भएको छ ।
फागुन १० गतेदेखि पाँच दिन हुने इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाई समेत प्राथमिकताका साथ प्रदर्शन र बिक्री गर्ने जनाएको छ । क्यान सुनसरीले मङ्गलवार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा क्यान सुनसरीका अध्यक्ष सन्देश राईले छैठौं पटक इन्फोटेक आयोजना गर्न लागेको जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता सङ्गठन क्यानले नेपालका विभिन्न स्थानमा इन्फोटेक आयोजना गर्ने गरेको छ ।
जसमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरूको प्रदर्शनी र बिक्री वितरण गर्ने गरेको जनाएको छ । इन्फोटेकमा सूचना प्रविधिसम्बन्धी जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरू सुपथ मूल्यमा किन्न सकिने उनले जानकारी दिए ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्द्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको जनाइएको छ ।
जसमा ती नेपाली प्रोडक्टले सहुलियतमा स्टल पाउनेछन् भने नेपालमा सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिन सकिनेछ ।
साथै सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरूले करिअर बारे समेत जानकारी लिन सक्ने अध्यक्ष राईले जानकारी दिए ।