इटहरी ।  इटहरीको जनता माध्यमिक विद्यालयलाई जग्गा भाडा बापत तिर्नुपर्ने करिब ४६ लाख बढी पैसा नतिरेपछि विवादित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशका महामन्त्री लालविक्रम थापालाई पाटीले कारबाही गरेको छ । 

लालविक्रमले विद्यालयलाई ३ वर्ष ७ महिना(माघ सम्म) महिनाको करिब ४६ लाख २२ हजार ५ सय जग्गा भाडा बापतको रकम तिर्नुपर्ने देखिन्छ ।
 तर भाडा बापतको रकम नतिरी अटेर गर्दै आएका लालविक्रमलाई रास्वपा कोसी प्रदेशले कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ । 
पार्टीले जिम्मेवार बनेर सकेसम्म आफै मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको र पार्टीको फेसबुक पेज दुरुपयोग गरेको आरोपमा उनीमाथि कारबाही गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रास्वपाका कोसी प्रदेश प्रवक्ता, कमलबाबु मैनालीले प्रेस विज्ञप्ति प्रकाशित गरी जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन् । 
प्रवक्ता मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको,‘ पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग को प. स. ०८०÷८१ च. न. ८० मिति २०८०÷११÷०७ को पत्र अनुसार कोसी प्रदेश समितिको महामन्त्री तथा सदस्य पद बाट अर्को निर्णय नआइन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ ।’
अब उप्रान्त निज लाल विक्रम थापा बाट रास्वपाको प्रतिनिधि स्वरूप गरिएका पार्टी सङ्ग सम्बन्धित कुनै पनि कार्यहरूलाई आधिकारिकता प्रदान नगर्ने पनि जारी विज्ञप्तिमा भनिएको छ । 
इटहरी उपमहानगरपालिका वडा नं. ९ मा रहेको जनता माध्यमिक विद्यालयको करिब २ कट्ठा जग्गा लालविक्रम सञ्चालक रहेको सनमुन प्लाजाले ५ वर्षका लागि सम्झौता गरी भाडामा लिएको थियो । 
वि.स. २०७६ साल साउन १ गते विद्यालय र लालविक्रमको सनमुन प्लाजा बिच भाडामा लिने दिने विषयमा सम्झौता भएको थियो ।
मासिक १ लाख ७ हजार ५ सय भाडाका दरले ५ वर्षका लागि सम्झौता भएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।  
तर लामो समय भई सक्दा पनि उनले विद्यालयलाई बुझाउनुपर्ने मासिक भाडा बुझाएका थिएनन् । 
लालविक्रमले भाडामा लिएको दिन देखी २०८० माघ महिना सम्म विद्यालयलाई ३ वर्ष ७ महिनाको मासिक १ लाख ७ हजार ५ सयका दरले हुन आउने कुल ४६ लाख २२ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने देखिन्छ । 
तर उनले विद्यालयलाई हाल सम्म किस्ता किस्ता गरी करिब ७ लाख ४९ हजार पैसा दिएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिए ।
मासिक भाडा नदिए पछि विद्यालयले लालविक्रमलाई भाडा तिर्न आउन भनी २ वर्ष अघि वि.स.२०७८ सालमै पत्र काटेको प्रधानाध्यापक सिग्देलले जानकारी दिए ।  तर उनले अटेर गर्दै आएका थिए । 

raspa school press
विद्यालयलाई भाडा नदिएका लालविक्रमले जग्गा भाडामा लिएर भौतिक संरचना बनाएर अन्य व्यवसायीहरूलाई भाडामा लगाएका छन् । उनीहरूबाट भाडा बापतको रकम लिने गरेको भए पनि विद्यालयलाई तिर्नुपर्ने रकम नतिरेको विद्यालयले जानकारी दिएको छ । 
जग्गा भाडा विवादका विषयमा २०८० असार महिनामा छानबिन गर्न इटहरी ९का अध्यक्ष जितेन्द्र थापाको संयोजकत्वमा ३ सदस्य समिति पनि बनेको थियो । वडा न. ६का अध्यक्ष दिवस पोख्रेल र विद्यालय व्यवस्थापन समितिका सदस्य समीर पोख्रेल छानबिन समितिको सदस्य रहेका थिए । 
सो समितिले विवादका विषयमा प्रतिवेदन बनाएर विद्यालय व्यवस्थापन समितिलाई बुझाएको प्रधानाध्यापक सिग्देलले जानकारी दिए । 
गएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको उम्मेदवार रहेका लाल विक्रमले सुनसरी क्षेत्र नं. २ मा १९ हजार बढी मत ल्याएका थिए । उनले १९३९१ मत ल्याएका थिए । इटहरीका वडाहरूबाट उनले काँग्रेस र एमालेका उम्मेदवारको भन्दा बढी मत ल्याएका थिए । 
सो निर्वाचनमा एमालेका भीम आचार्य ३२०२४ मत ल्याएर विजयी थिए भने काँग्रेसका सीताराम मेहताले २६,०६८ मत ल्याएका थिए ।।