विराटनगर । कोभिडको महामारीको बेला नागरिक, दातृ संस्था र प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल सञ्चलनमा समस्या भएको छ । प्रदेश सरकारले पटक पटक नाम र उद्देश्य फेरेर अस्पताल सञ्चालनको प्रयास गरे पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका बेला सञ्चालनमा आएको अस्पताल अढाई वर्षदेखि सञ्चालन हुन  नसक्दा त्यहाँ रहेका अर्बौँ रुपैयाँका औजार उपकरण बिग्रने अवस्थामा पुगेका छन् । 
अस्पतालमा अहिले एक सय ३० वटा अत्याधुनिक बेड रहेका छन् ।  अस्पतालमा ८० वटा आइसियु, भेन्टिलेटर ३० र अल्ट्रा साउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
स्विस सरकारले उक्त अस्पतालका लागि बेग्लै भवन निर्माण गरेको थियो । स्विस  सरकारले अस्पताललाई आवश्यक पर्ने १ सय ५० सिलिन्डर क्षमताका दुई वटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन र दुई वटा वाटर ट्रिटमेन्ट प्लान्टको निर्माण गरी दिएको थियो। 
sankramak
अस्पतालमा अहिले एबीजी मेसिन, वाई प्याप १० थान, सी प्याप १० थान, डेफी विलेट एक थान, पेसेन्ट मनिटर ४० थान, अटो प्लेट दुई थान समेत रहेको मन्त्रालयले जनाएको छ । तर कोशी प्रदेश सरकारले आवश्यक नीति ल्याई अस्पताल सञ्चालन गर्न नसक्दा अर्ब रुपैयाँ भन्दा बढीका औजार उपकरण थन्किएर बसेका छन् । 
यो अस्पताल सञ्चालन गर्न निजी स्तरबाट करिब तीन करोड रुपैयाँ सहयोग जुटेको तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरे बताँँउछन् । 
नागरिक दातृ संस्था र सरकारको लगानीमा बनेको सो अस्पतालमा रहेका औजार उपकरण भने कोभिड महामारी सकिएपछि भने प्रयोग विहीन छन् । २ वर्ष भन्दा बढी समयदेखि औजार उपकरण सञ्चालन नहुँदा खिया लाग्ने अवस्थामा पुगेका छन् । 
औजार उपकरणका रेखदेख र सरसफाइका लागि नियुक्त गरिएका कर्मचारीको दायित्व भने प्रदेश सरकारले व्योहोर्दै आएको छ । 
सञ्चालनमै आएन संक्रामक रोग तथा सघन उपचार केन्द्र 
कोभिड महामारी सकिएपछि कोशी प्रदेश सरकारले अस्पतालको नाम फेर्‍यो । आर्थिक वर्ष २०७९÷८०को बजेट नीति तथा कार्यक्रममा सो अस्पतालको नामसंक्रामक रोग तथा सघन उपचार केन्द्र राखियो । 
सङ्क्रामक रोगको उपचारका लागि भनेर सरकारले यसका लागि ५ करोड रुपैयाँ बजेट पनि विनियोजन गर्‍यो । प्रदेश सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्त गरी दैनिक ओपिडी सेवा समेत सञ्चालन गर्‍यो । 
तर दैनिक २० देखि ३० जना मात्रै बिरामी आउँदा अस्पतालले गति लिन सकेन । बिरामी नआएपछि त्यहाँ नियुक्त भएका डाक्टरहरूलाई प्रदेश सरकारले विभिन्न जिल्ला अस्पतालमा खटायो । बिरामी नआएपछि केही स्वास्थ्यकर्मी काम छाडेर विदेश समेत गए । 
अस्पतालका लागि भनेर नियुक्त गरिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तलब मात्रै खाइरहेका छन् । 
अहिले २ जना एमबिबिएस डाक्टर सहित २८ जना स्वास्थ्य प्रशासनका कर्मचारी र कार्यालय सहयोगीलाई प्रदेश सरकारले तलब तथा भत्ता खुवाउँदै आएको छ । 
१० जना जति छात्राबृती करारमा समेत स्वास्थ्यकर्मी सो अस्पतालमा कार्यरत छन् । अस्पतालमा रहेको ओपिडी सेवा लिन आउने बिरामीको सङ्ख्या भने दिन दिनै घट्दै गएको सो अस्पताल हेर्ने जिम्मा पाएका स्वास्थ्य मन्त्रालयका भरत साहाले बताए । 
फेरी फेरियो अस्पतालको नाम  
अस्पताल सञ्चालन गर्न नसकेको प्रदेश सरकारले यस पटक बाट भने सो अस्पताललाई हृदय रोग केन्द्र बनाउने घोषणा गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट बजेट ल्याउँदै सो अस्पताललाई हृदय रोग केन्द्र बनाउने घोषणा गरेका छन् । हृदय रोग केन्द्र स्थापनका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुधा देवकोटाले बताइन् । 
उनका अनुसार अस्पतालको भौतिक संरचना र औजार उपकरणको प्रयोगका लागि हृदय रोग उपचार केन्द्र  बनाउन लागिएको बताइन् । 
sankramak 2
उनले सो अस्पताल आवश्यकताका आधारमा खुलेका हुनाले दरबन्दी नभएको र आवश्यकताका आधारमा प्रदेश सरकारले डाक्टर, चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गर्ने गरेको बताइन् । 
उनले भनिन्,‘प्रदेशमा मुटु रोगको उपचार गर्ने भरपर्दो अस्पताल थिएन । मुटु रोगको बिरामी बढिरहेको अवस्थामा मुटु रोग उपचारका लागि हृदय रोग केन्द्र स्थापन गर्ने निर्णय गरिएको हो । 
उनले हृदय रोग केन्द्र स्थापनका लागि के के गर्न सकिन्छ रु जनशक्ति र लगानी कति आवश्यक पर्छ भनेर विज्ञसँग बसेर छलफल गर्ने र यसैका आधरमा अस्पताल निर्माण गरिने देवकोटाले बताइन् । उनले यसै बर्सबाट मुटुको रोगको उपचार गर्ने अस्पताल निर्माणमा प्रदेश सरकार लाग्ने बताइन् ।