विराटनगर  । सरल नेपाली भाषामा लेखिएको  दुर्गा सप्तशती चण्डीको मंगलबार विराटनगरमा विमोचन गरिएको छ ।  संस्कृत भाषामा सात सय श्लोकमा लेखिएको मूल ग्रन्थलाई नेपालीमा पनि जस्ताको तस्तै (छाया ) अनुवाद गरिएको सो पुस्तकको विमोचन गरिएको हो ।
प्रा.डा. चन्द्रमणि नेपाल, प्रा.डा. मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सेना, कविराज न्यौपाने, अनुवादक  एकनाथ ढकाल, प्रकाशक राधा ढकाल, समाजसेवी गणेश पोखरेलले  सो पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
सनातन धर्म  सेवा समिति विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्रा.डा चन्द्रमणि नेपालले जसोतसो संस्कृतका श्लोक पाठ गर्ने तर अर्थ नबुझ्ने तथा संस्कृत पाठ गर्दा नसक्ने पाठकका लागि यो ग्रन्थ महान् मनचिन्ते उपहार भएको दाबी गरे । साथै अन्य पाठकका लागि पनि मनोविनोदको मीठो मसला बन्न सक्ने प्रा.डा. नेपालले महसुस गरेको बताए ।
सो ग्रन्थ बारे प्रकाश पार्दै पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा गुरु कोइरालाले सात सय श्लोकको नै नेपालीमा अनुवाद गरी लेखिएको सो ग्रन्थ सम्भवतः पहिलो भएको बताए । भन्नु भयो (उवाच) लाई पनि बेग्लै श्लोकमा गणना गरिएको र केहीमा आफ्नो मौलिकपन दिएकोले  पुस्तकमा भावानुवाद भनी उल्लेख  गरिएता पनि प्राय अनुवाद जस्ताको तस्तै गरिएकाले छाया अनुवाद भन्न मिल्ने  डा कोइरालाको भनाइ थियो ।
सो अवसरमा प्रा.डा मेदिनी शर्मा नेपाल, डा बाबुराम तिमल्सिना, कविराज न्यौपाने, माधव काफ्ले, प्रतिमा खतिवडा निरौला लगायतले संस्कृत भाषामा लेखिएका अन्य धर्म ग्रन्थलाई पनि जस्ताको तस्तै  सरल भाषामा अनुवाद हुनु पर्नेमा जोड दिए ।  ८० वर्षको अवकाश प्राप्त जीवनमा अनुवादक ढकालले गरेको यस कार्यलाई प्रेरणाको स्रोतका रूपमा लिनु पर्नेमा वक्ताहरूले जोड दिएका थिए ।