रसियाका बहुप्रतिभाशाली वैज्ञानिक अलेक्जेण्डर चिजोवस्की  (Alexander Chizhevsky,1897-1964) ले बिसौं शताब्दीको तेस्रो दशकमा समाजशास्त्रीय महत्वको एक अनौठो  विषय उजागर गरेका थिए । 

‘ऐतिहासिक प्रकृयाको भौतिक कारण सिद्धान्त’Physical Factors of the Historical Process नामको उनको शोधपत्रमा भनिएको थियो, हरेक १२ वर्षमा सौर्यमण्डलमा सौर्य आँधी चल्छ । यसले पृथ्वीमा विद्युतीय उपकरणमा खराबी, बिमान दुर्घटना, महामारी तथा किटाणु संक्रमण मात्र बढ्दैन, मानिसको मानसिक जीवन पनि प्रभावित हुन्छ । 

उनको भनाइ अनुसार ब्रम्हाण्डमा यस प्रकारको नकारात्मक उर्जाको वृद्धिसँगै मानिसहरूको मनमा पनि नकारात्मक प्रवृत्ति बढ्छ । यसैको कारण समाजमा द्वन्द, विद्रोह, क्रान्ति, देशहरू बिचका युद्ध आदि प्रकट हुन्छन् । सौर्य सतहमा हरेक १२ वर्षमा आउने यस खालको आँधिको चक्रकै कारण पृथ्वीमा पनि सोही चक्र अनुसारका सामाजिक घटनाक्रमहरू देखा पर्दछन् । 

चिजोवस्कीले रूस र अन्य ७१ देशमा ५०० इशापूर्वदेखि १९२२ सम्म घटेका दङ्गा, क्रान्ति तथा विद्रोहका घटनाहरूलाई हरेक १२ वर्षमा पैदा हुने सौर्य आँधीसँग तुलना गरेर हेरेका थिए । यस क्रममा यस्तो तथ्य देखियो कि, अधिकतम घटनाहरू सौर्य आँधीको १२ वर्षे चक्रसँग सम्बन्धित छन् । उनले रसियाको सन् १९०५ र १९१७ का क्रान्तिकारी घटनालाई पनि यही सिद्धान्त अनुसार ब्याख्या गरेका थिए । 

यो स्टालीन नेतृत्बको साम्यवादी शासनको समय थियो । जुन समयमा वैज्ञानिकहरूका अनुसन्धानका तथ्यहरूलाई पनि माक्र्सवाद पक्षधर र विरोधी भनेर भेद गरिन्थ्यो । उनका सम्बन्धमा पनि यस्तै भयो । उनको यो धारणा साम्यवादी शासकहरूका लागि असैह्य विषय बन्यो । 

साम्यवादी नेताहरूले उनको यो सिद्धान्तले माक्र्सवादको खण्डन गरेको अर्थमा बुझे । भरखरै सम्पन्न क्रान्तिको अवमूल्यन गरेको अर्थ लगाए । सन् १९४२ मा स्टालीनलाई चिजोवस्कीको सिद्धान्त अवगत भयो । तब उनलाई आफ्नो सिद्धान्त फिर्ता लिन अनुरोध गरियो । तर उनले यो इन्कार गरे । 

यस वापत उनलाई गिरफ्तार गरियो र उरल पहाडमा कठोर श्रम शिविरमा पठाइयो । आठ वर्षको कठोर श्रम शिविरको कैदी जीवनबाट १९५० मा मात्र उनलाई रिहाइ गरियो । त्यसपछि उनलाई कजाकिस्थानको कारागाण्डा भन्ने ठाउँमा पठाईयो । त्यहाँ उनले कोइला खानीमा विज्ञानको काम गरे । तर सौर्य प्रभावको सिद्धान्तलाई भने पुनः अगाडि बढाएनन् । 

उनको यो सिद्धान्तमाथि त्यसपछिका वैज्ञानिकहरूले भने चासोका साथ परीक्षण 

गरे । सन् १९३७ मा अमेरिकाको एरिजोना विश्वविद्यालयका प्रोफेसर ए. ई डग्लस ९ब्लमचभध म्यगनबिकक,ज्ञडटठ(ज्ञढटद्द० को नेतृत्बमा रूखको चक्र (रिङ्ग) अनुसन्धान गर्ने संस्था स्थापना गरियो । जसको खोजले भने चिजोवस्कीको खोजलाई पुष्टि ग¥यो   । 

सामान्यतः रूखभित्रका चक्र वा घेराहरूले उक्त रूखको उमेर बताउँछन् । रुखभित्रका घेराहरूले उक्त रुखले भोगेको मौसमको पनि जानकारी दिन्छन् । यदि कुनै साल मौसम धेरै गर्मि भएको थियो भने घेरा केही फराकिला बनेका हुन्छन् । धेरै जाडो भएको थियो भने घेरा साँघुरा भएका हुन्छन् । 

प्रोफेसर डगलसले यो खोजमा यो पनि पत्ता लगाए– हरेक १२ वर्षमा रूखको घेरा जति ठूलो हुन्छ, त्यती अरू वर्षमा हुँदैन । यसको कारण अरू केही नभएर १२ वर्षे सौर्य आँधि नै हो । सारा पृथ्वीमा हरेक १२ वर्षमा रूखहरूले आफ्नो बोक्रा बाक्लो बनाउँछन् । त्यो वर्ष वायुमण्डलमा रेडियो एक्टीबिटी अधिक हुन्छ र त्यसबाट रक्षाका लागि रूखले यसो गर्दछन् । 

यही बाक्लो बोक्रा नै पछि गएर फराकिलो घेराका रूपमा देखा परेको हो । यो सब हुनुमा प्रोफेसर डगलसले पृथ्वीकोे मौसम नै कारण हो भनेका छन् । यसरी रूखको घेराले पनि चिजोवस्कीको धारणालाई पुष्टि गरिदियो । 

आज चिजोवस्की, सौर्य–पृथ्वी अनुसन्धान विषयका संस्थापक मानिन्छन् । सूर्यमा हुने गतिविधिले पृथ्वीमा प्रभाव पर्दछ भन्ने तथ्य उनले प्रमाणित गरेको मानिन्छ । चिजोवस्कीका खोजले स्थानीय तत्वहरूको कार्य–कारण सम्बन्धका आधारमा सामाजिक घटनाहरूलाई ब्याख्या गर्ने र यही विधिलाई सबथोक मान्ने यान्त्रिक पद्धति माथि प्रहार ग¥यो । 

समाजको गतिशीलताका कारणहरूमा ब्रम्हाण्डीय लयले पनि काम गरेको हुन्छ भन्ने निकै अनौठो र रोचक तथ्य उनले स्थापित गरेका छन् ।

 तिम्सिनाको भदौ ६ गते लोर्कापण हुने पुस्तक जैविक दर्शन बाटा सभार