विराटनगर । एमालेका उपाध्यक्ष सुभाष नेम्वाङले धरानमा भदौ २३ गते गरेको भाषण अन्तिम भाषण भएको छ । एमाले निकट युवा सङ्घको प्रथम अधिवेशनको उद्घाटन गर्न आएका बेला नेम्वाङ्गले युवाहरूलाई सम्बोधन गरेका थिए ।
उनले गरेको भाषण नै अन्तिम भाषण भएको छ ।
उनी धरानबाट फर्किएपछि बिरामी भएका थिए । ज्वरो आएर बिरामी भएका नेम्वाङ्गको गए राती निधन भएको छ । उनले धरानमा मन्तव्य दिइरहँदा कोशी नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले कार्यक्रम प्राङ्गणबाहिर प्रदर्शनसमेत गरेका थिए ।
कोशी नामकरणको विरुद्धमा आन्दोलन गरिरहेका पहिचानवादीहरू प्रति लक्षित गर्दे नेम्वाङ्गले ढुंगामुढा गरेर मात्रै पहिचान प्राप्त नहुने बताएका थिए ।
उनले भनेका थिए हामीले ढुंगामुढा प्रहार गरेर ‘कस्तो खालको पहिचान खोजेको हो?’
उनले अराजक गतिविधि गरी पहिचान स्थापित हुन नसक्ने बताएका थिए। अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका नेम्वाङले एमाले पहिचानवादी पार्टी भएको दाबीसमेत गरेका थिए।
उनले एमालेकै पहलमा किरातका महान् गुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको दाबी गरे ।
उनले भने,‘महागुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गर्दा उहाँ किराँतीहरूको मात्र नभएर सिङ्गो देश, सबै जाति, धर्म, संस्कृतिका जनताको पनि महागुरु हुनुभयो । यति काम गर्ने पार्टीलाई पहिचान विरोधी भन्न मिल्छ?
नेम्वाङ्गले पहिचानको ढुङ्गा खतरनाक भएको बताए । उनले भनेका थिए,पहिचानका लागि हानिएको ढुङ्गा ताप्लेजुङको लिम्बू डिएसपीलाई लाग्ने, झापाको राजवंशी हबलदारलाई लाग्ने, कस्तो खालको ढुङ्गा हो?’
उनले ढुङ्गा प्रहार गर्ने प्रवृत्ति कसैको हितमा नहुने बताए ।
उनले कोशी प्रदेशको बिचमा उभिएको बताउँदै सरकारले गरेको काम कारबाही संसदीय मूल्य र मान्यता नभएको भनेर भन्दै आएको बताएका थिए ।
सभामुख संसद्को रेफ्रि भएको भन्दै फुटबलको रेफ्रीले गोल गरे के हुन्छ ? तर साथीहरूले रेफ्रीलाई गोल हान्न लगाएको बताएका थिए ।
नेम्वाङ्गले भनेका थिए हामीले भन्यौ, रेफ्रीलाई गोल गर्नु हुँदैन भन्यौ तर दोस्रो पटक पनि सभा अध्यक्ष गरेका व्यक्तिलाई मत हाल्न लाउनु भयो । तर उहाँहरूले मान्नु भएन युवाहरू सम्झनुस् यो देश कसरी चलिरहेको छ । साथीहरूले कसरी चलाइरहनु भएको छ ।
उनले लोकतन्त्रको मूल्यमान्यतालाई बलियो बनाएर जानु नै देश र जनताको हितमा हुने बताए ।
उनले धरानमा भनेका, ‘तराई मधेसदेखि हिमालसम्मका सबै जाति, धर्म, भाषा, संस्कृतिका जनता एक ठाउँमा उभिएकै कारण नेपाल सधैँ स्वतन्त्र मुलुक भनेर चिनिँदै आएको छ।’
नेम्वाङ्ले भनेका थिए तपाई–हामी सबैले भन्छौँ, यो देश हेर्नोस् त, हाम्रो छिमेकी भारत दास बन्यो । तर नेपाल, हामी कहिल्यै पनि दासतामा परेनौँ । स्वतन्त्र रह्यौँ । र अहिले भर्खरै हामीले ८ वर्ष अगाडि संविधान बनायौँ । जनताले जनताका लागि । राष्ट्रिय झन्डा पास गर्यौँ । कुनै बेलामा यसका बारेमा तपाईँहरूसँग बसेर छुट्टै छलफल गरौँला ।
उनले युवा सङ्घले आयोजना गरेको कार्यक्रम भव्य भएको बताए । उनले आजै काठमाण्र्डौ पुग्नु परेकाले सबै कार्यक्रम हेर्न नपाएको बताए । उनले आफूलाई हतार भएको बताए । संसद् कसरी चलिरहेको छ सबैलाई थाहा छ । प्रमुख प्रतिपक्षीको हैसियतले संसद् चलाउनका लागि काठमाडौँ पुग्नु परेको बताए ।
उनले भनेका थिए हामी जिम्मेवार प्रतिपक्षी भइनौ भने सत्तारुढ दलका साथीहरूले भन्नेछन् हेर्नुस् प्रतिपक्षीले संसद् चल्नै दिएन ।