कवि : तारा पराजुली 
हामी जन्मेको गाउँतिर मान्छेहरू
मलामी जाँदा मलामीजस्तै लाग्थे। 
अलिकति मलिन अनुहार
एक हरफ पीडाको लामो लस्कर 
केही छुटाउनुपर्दाको अभावको सन्नाटा
न दुख्ने गरी हाँस्थे न बिझ्ने गरी बोल्थे 
बाँच्दाको दुस्मनसमेत रिसइवीको विगत बिर्सेर 
शोकमा शोकाकुल हुन्थे। 
कर्मी मौरीको जत्थाजस्तै 
घाट पुग्नु अघि वाटैदेखि दाउरा भेला गर्थे ,
मैले थाहा पाएसम्म गाउँमा कसैले कसैको मृत्युलाई उत्सव मनाएनन् 
गाउँमा कहिल्यै मृत्युका नाममा ताली बजेन। 
पालैपालो काँध हालेर घाटसम्म लैजान्थे लास मलामीहरू 
छिमेकी डोकाभरि खाजा बोकेर जान्थे मलामीका लागि 
र त गाउँ गाउँजस्तो थियो   इस्ट मित्र आफ्ना जस्तै लाग्थे। 
सहरमा आजभोलि हातमा मोबाइल काँधमा क्यामेरा बोकेर जान्छन् मलामीहरू 
अनि जल्दै गरेको लासमाथि उड्दै गरेको धुवाँ मुनि 
अन्तर्वार्ता लिने र दिनलाई भीडा(भीड गर्छन् मलामीहरू। 
 यो मतलवी सहर यति निर्दयी र निरङ्कुश बन्यो कि, 
जन्ती र मलामी छुटाउनै मुस्किल।
अचेल त यस्तो लाग्न थालेको छ सहरमा के छ यस्तो ?
जहाँ मान्छेलाई हेर्दाहेर्दै कठोर ढुङ्गा बनाउँछ...