सुनसरी — जिल्ला प्रशासन कार्यालय सुनसरीले खसीबोकाको मासु प्रतिकिलो १ हजार १ सय रुपैयाँभन्दा बढीमा बिक्री नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
प्रशासनले उपभोक्ताबाट मूल्यवृद्धिको गुनासो आएपछि बिहिबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्म जिल्लाभर सोही मूल्यमा मासु खरिदबिक्री गर्न अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा खसीबोकाको मासुको मूल्य अचानक बढेको भन्दै उपभोक्ताबाट उजुरी तथा गुनासो प्राप्त भएको उल्लेख छ।
मूल्यवृद्धिको मनासिब आधार नभएको जनाउँदै प्रशासनले प्रतिकिलो अधिकतम १ हजार १ सय रुपैयाँमा बिक्री गर्न आग्रह गरेको हो।
प्रशासनका अनुसार गत माघदेखि नै खसीबोकाको मासुको उपभोक्ता मूल्य प्रतिकिलो १ हजार १ सय रुपैयाँ कायम रहेको थियो।
केही मासु व्यवसायीले पनि सोही मूल्यमा बिक्री गर्ने प्रतिबद्धता व्यक्त गरेकाले अर्को व्यवस्था नभएसम्म जिल्लाभर प्रतिकिलो १ हजार १ सय रुपैयाँमा खरिदबिक्री गर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।
हाल सुनसरीमा खसीबोकाको मासु प्रतिकिलो १ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ। प्रशासनले तोकेको मूल्य र बजारमा कायम मूल्य समान रहेकाले अब व्यवसायीले उक्त मूल्यभन्दा बढी असुल्न नपाउनेछन्।
चाडपर्वका बेला मासुको माग बढ्ने र त्यसको बहानामा व्यवसायीले मनपरी मूल्य लिन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रशासनले उपभोक्ता मूल्यमा एकरूपता कायम गर्न खोजेको हो। प्रशासनले सूचनालाई बेवास्ता गरी अनुचित तथा अस्वाभाविक मूल्यमा मासु बिक्री गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।











