सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीका निरजकुमार यादवमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपालबाट र दुई जना भारतका विभिन्न स्थानबाट रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार पत्रकार सम्मेलन गरी थप तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
यसअघि घटनाकै दिन प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले बताए ।
प्रहरीका अनुसार गत असोज ३ गते साँझ ५ बजेर २५ मिनेटमा देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित लक्ष्मीनारायण मन्दिर नजिकै यादवमाथि गोली प्रहार भएको थियो ।
केटी जिस्काएको विषयलाई लिएर भएको विवादका क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
तिघ्रामा गोली लागेर घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, २७ बर्षीय कुन्दन यादव, २६ वर्षीय रणधीर यादव र २३ वर्षीय सुशील यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका पाँचै जनामाथि घटनामा उनीहरूको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्ति, हतियारको व्यवस्थापन तथा घटनामा सहयोग गर्ने व्यक्तिको पहिचान र भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यद्यपि, पक्राउ परेका प्रत्येक व्यक्तिको छुट्टाछुट्टै भूमिका प्रहरीले सार्वजनिक गरेको विवरणमा स्पष्ट खुलाइएको छैन ।
घटनापछि फरार रहेका व्यक्तिहरू नेपाल–भारत सीमापारि लुकेको सूचनाका आधारमा प्रहरीले खोजी अघि बढाएको थियो ।
सोही क्रममा दुई जनालाई भारतका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरी उपरीक्षक मल्लले बताए ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको बयान, घटनास्थलको अवस्था र अन्य प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।











