मोरङ । मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल बुधबार राति १०ः३५ बजे हात्तीचोकमा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारीका २७ वर्षीय कुमार नेपाली, सोही स्थानका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।

घाइतेमध्ये कुमारलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे, उर्लाबारी तथा सन्देश र अमरलाई न्युरो अस्पताल विराटनगर लगिएको थियो ।

उपचारका क्रममा चिकित्सकले कुमार र सन्देशलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अमरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी चौकी जाँतेको नियन्त्रणमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।