सुनसरी । बडादशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यात्रालाई सहज र सुरक्षित बनाउन कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयको पहलमा शुक्रबारदेखि सहायता कक्ष सञ्चालन गरिएको हो । इटहरी बसपार्कको टर्मिनल भवनमा स्थापना गरिएको सहायता कक्षको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीले उद्घाटन गरे ।

कक्षबाट यात्राका क्रममा देखिएका समस्या तथा गुनासोको सहजीकरणसँगै ट्राफिक र यातायात सम्बन्धी सूचना उपलब्ध गराइने प्रहरीले जनाएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्दा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने जस्ता समस्या देखिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक गिरीले बताए ।

‘यात्राका क्रममा यात्रुले भोग्नुपरेका समस्या र कठिनाइमा तत्काल सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको हो,’ उनले भने, ‘भाडा, यातायात सेवा तथा ट्राफिक नियमसम्बन्धी समस्या भए यात्रुले यहाँ जानकारी गराउन सक्छन् ।’

चाडपर्वमा इटहरी हुँदै पूर्वी पहाडी तथा अन्य जिल्लातर्फ जाने र विभिन्न स्थानबाट सुनसरी भित्रिने यात्रुको संख्या बढ्ने भएकाले यात्रु सहायता कक्ष प्रभावकारी हुने प्रहरीले जनाएको छ । कक्षबाट यात्रुलाई गन्तव्य, यातायात सेवा, भाडादर तथा ट्राफिक व्यवस्थापनसम्बन्धी आवश्यक जानकारीसमेत दिइनेछ ।

दशैं–तिहारको समयमा सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने, सवारी चलाउँदा लापरबाही गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।

यात्रु सहायता कक्षबाट चाडपर्वका नाममा हुने विकृति तथा अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने गिरीले बताए ।

यात्राका क्रममा कुनै अवाञ्छित गतिविधि वा समस्या देखिए तत्काल प्रहरीलाई जानकारी गराउन उनले यात्रुलाई आग्रह गरे ।

चाडपर्वको समयमा सवारीसाधनको नियमित अनुगमन तथा ट्राफिक व्यवस्थापनलाई पनि तीव्र बनाइने प्रहरीले जनाएको छ ।

सहायता कक्षमा यात्रुका गुनासा र समस्याबारे जानकारी लिएर सम्बन्धित निकायसँग समन्वय गरी समाधानको प्रयास गरिनेछ ।