सुनसरी । बडादशैंको मुख्य दिन विजया दशमी आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले आज उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा तोकिदिएको छ । तर बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिने भनिएको छ ।
कता फर्केर टीका लगाउने ?
कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा टीका लगाइदिने र थाप्ने दिशा तय गर्ने गर्छन् । तर सामान्य रुपमा त्यसरी विस्तृत रुपमा दिशा केलाउने प्रचलन धेरै छैन । तर टीका लगाउने कता फर्कने भन्ने प्रश्न सबैको मनमा आउँछ । यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने भनेको छ ।
कसरी लगाउने टीका ?
दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।
दुर्गा विसर्जनपछि कलशको जल अभिषेक गरी इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । अनि दैलामाथि टीका लगाउने गरिन्छ ।
गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।
साइत नै खोजेर उपयुक्त समयमा टीका लगाउँ भन्नेका लागि १० बजेर २६ मिनेटमा उत्तम साइत तोकिएको छ । तर आज विजया दशमीको दिन बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।











