सुनसरी । सताक्षीधाम पूर्वी नेपालको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। यो तिर्थस्थल झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्छ । झिलझिले बजारबाट करिब ५ किलोमिटर उत्तर चुरेपहाडको फेदीमा पर्छ । नजिकै इलाम जिल्लाको सिमाना रहेको छ ।  


 यहाँ प्राकृतिक मूर्तिका स्वरूप, भित्तामा रहेका गाईका थुन आकारका शिलाहरु छन् । सतासी खोलाको बिच भागमा करिब २० मिटरभित्रबाट निस्कने गन्धक–पानी, फेदीमा रहेका अन्य मूर्तिहरूका कारण यो ठाउँ धार्मिक र प्राकृतिक दृष्टिले आकर्षक छ । 


satashidham2

आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासले  भक्तजनहरु पूजा गर्न यहाँ आउने गर्दछन् । सताक्षीधाममा प्रत्येक वर्ष बालाचतुर्दशीको दिन सतबिउ छर्न भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ ।  

 यस ठाउँको नामकरणका बारेमा विभिन्न किम्बदन्तीहरू रहेको पाइन्छ । 

हिमालय पर्वतले छोरी पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिन लागेपछि पार्वती भागेर लुकेको ठाउँ भएकाले यसको नाम सताक्षीधाम रहन गएको भन्ने जनविश्वास छ । 

satashidham3


यस्तै, अर्को किम्बदन्ती अनुसार पाण्डवहरूको वनबासको अन्तिम समयमा एक वर्षको गुप्तबास बस्नु पर्ने भएको र सो गुप्तबास सफल होस् भनेर यस स्थानमा पाण्डवहरूले सत्ताक्षी देवीको आराधना गरेको हुँदा यस धामको नाम सत्ताक्षी रहनगएको हो भन्ने भनाई छ।


त्यस्तै, पृथ्वीमा सुख्खा लागेपछि सतीदेवीले आफ्नो सयवटा आँखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाउदा तिनै देवीको नामबाट सतासी हुदै सताक्षीधाम रहेको भन्ने धार्मिक विश्वास  पनि रहेको छ । 

satashidham5


 प्राकृतिक र धार्मिका महत्व जोडिएको यो ठाउँ पछिल्लो समय छोटो समयमा भ्रमण गर्ने तिर्थस्थलको रुपमा पनि लिने गरिएकोछ । कोशी प्रदेशका विभिन्न जिल्लाहरुबाट तिर्थाटनका लागि भक्तजनहरु यहाँ आउने गर्दछन् । 

satashidham6