विराटनगर। वि.सं.२०४६ साल असार ११ गते। बागलुङको दुर्गम गाउँ ‘रिगा’को स्वास्थ्य चौकीमा हाजिर हुन पुग्दा एक युवकको मनमा जोस र आँखामा सपनाको पहाड थियो। पोखराबाट झन्डै चार दिनको पैदल यात्रा गरेर दुर्गमका बस्तीमा पुग्दा उनले भोगेका चुनौतीहरूले नै उनलाई पछिसम्म केही गर्ने अठोट जन्मायो। ती युवक अर्थात् ज्ञान बहादुर बस्नेत, जो ३६ वर्ष लामो निजामती स्वास्थ्य सेवाको यात्रा सकेर स्वास्थ्य निर्देशनालय, कोशी प्रदेशको निर्देशकबाट बिदाइ हुँदै छन्।
यो अवधिमा धेरै ठाउँमा काम गरेर एक कुशल स्वास्थ्य प्रशासकको रूपमा उभ्याएका बस्नेत निवृत्त हुँदै गर्दा मनमा एउटै अधुरो सपना लिएर बिदाइ हुँदै छन्, ‘एघारौँ तहमा बढुवा भएर पनि सरकारले आफ्नै कर्मचारीलाई जिम्मेवारी दिएन।’
बस्नेतको ३६ वर्षे कार्यकाल नेपालको स्वास्थ्य क्षेत्रका धेरै उतारचढावको साक्षी छ। बागलुङको दुर्गम रिगाबाट सुरु भएको उनको यात्रा ओखलढुङ्गा, काभ्रेपलान्चोक, भोजपुर, सिन्धुली, सप्तरी, पर्वत हुँदै मोरङ जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थ्य विभागसम्म पुग्यो। उनले ओखलढुङ्गामा स्वास्थ्य कार्यालय प्रमुखको रूपमा लगातार ७ वर्ष र कोशी प्रदेशको स्वास्थ्य निर्देशकका रूपमा ५ वर्ष ४ महिना सेवा गरे। यो अवधि नेपालको स्वास्थ्य क्षेत्रको प्रशासनिक इतिहासमा एउटा रेकर्ड भएको उनी दाबी गर्छन्।
‘एउटै ठाउँमा यति लामो समय बसेर सेवा गर्ने अवसर पाउनु मेरो लागि गर्वको विषय हो,’ बस्नेत सम्झिन्छन्,‘यसले मलाई त्यहाँको भूगोल र मानिसको आवश्यकता बुझ्न मद्दत गर्यो।’
२०७४ सालमा जब मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा थियो, धेरै कर्मचारीहरू सङ्घ (केन्द्र) मै बस्न रुचाउँथे। तर, बस्नेतले स्वेच्छाले प्रदेश रोजे। ‘नयाँ संरचना थियो, नयाँ पनमा अलिकति मेहनत र सङ्घर्ष गर्नुपर्छ भनेरै म कोशी प्रदेश आएको हुँ,’ उनी भन्छन्।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहिलो स्वास्थ्य महाशाखा प्रमुख भएर आउँदा न ऐन थियो, न त बस्ने कुर्सी नै। उनी ती दिनहरूलाई प्रदेशको संरचनात्मक विकासको रूपमा लागेको सम्झन्छन्। कोभिड–१९ को भयावह लहरमा प्रदेशको स्वास्थ्य संयोजक भएर काम गर्दाका रातहरू उनी कहिल्यै बिर्सँदैनन्। नीति निर्माण, ऐन तर्जुमा र सङ्गठन व्यवस्थापनमा उनले पुर्याएको योगदानलाई त्यो बेलामा सामाजिक विकास मन्त्री जीवन घिमिरे सम्झन्छन्।
यो सेवा अवधिको क्रममा भोगेका कुराहरू मध्ये बस्नेतको मनमा एउटा कुराले भने सधैँ चसक्क पारिरहनेछ। ११औँ तह (सह–सचिव) मा बढुवा भए पनि प्रदेश सरकारले आफ्नै प्रदेशका सक्षम कर्मचारीलाई ‘प्रदेश सचिव’ को जिम्मेवारी नदिएकोमा उनको चित्त दुखाइ छ। ‘हामी पाँच जना ११औँ तहमा थियौँ, तर प्रदेशले आफ्नै कर्मचारीलाई सचिव बनाउन वास्ता गरेनन्,’ उनले भने, ‘सङ्घबाट आउनेलाई मात्र अवसर दिने तर यहीँको भूगोल बुझेको कर्मचारीलाई पाखा लगाउने प्रवृत्तिले कर्मचारीको मनोबल गिर्छ। हामीले सचिव पद मागेको होइन, जिम्मेवारी र काम गर्ने अवसर मागेका थियौँ।’ उनी थप्छन्, ‘जुन हुटहुटीका साथ प्रदेश बनाउन आइयो, अन्तिममा त्यो अधिकार र जिम्मेवारी नपाउँदा अलि खल्लो महसुस भयो।’ बस्नेतले कोशी प्रदेशमा नै २२ वर्षसम्म सेवा गरेका छन्।
बस्नेतसँगै ११औँ तहमा बढुवा भएका अन्य ४ जना मध्ये कृष्ण पोखरेल, डा. सुशील अधिकारी, प्रकाश डाँगी पनि अहिलेसम्म सचिव बन्न पाएका छैनन्। डा. इन्द्र सापकोटाले भनेँ पर्यटन वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी पाउने पहिलो एघारौँ तहका कर्मचारी हुन्। एक जनाले मात्र सचिवको अवसर पाएको तर बस्नेत लगायत अन्यले त्यो अवसर अहिलेसम्म पाएनन्। सङ्घीय सरकारले पठाएका एघारौँ तहका सहसचिवको नै रजगज छ। प्रदेशका सहसचिवलाई प्रदेश सरकारले अझै मुख्य जिम्मेवारी दिएको छैन।
अबको योजना
असार १२ गतेबाट बस्नेतको अफिसियल कलम बन्द हुनेछ, तर उनको सक्रियता भने थप बढ्ने बताउँछन्। अवकाशपछि उनी घरमै आराम गरेर बस्ने पक्षमा छैनन्। उनले एउटा नौलो अवधारणा सार्वजनिक गरे। उनका अनुसार, जनस्वास्थ्य क्याफे (पब्लिक हेल्थ क्याफे) खोलेर स्वास्थ्य क्षेत्रका समस्या, दुखसुख र अनुभवहरू सुनाउने थलोको रूपमा विकास गर्ने योजना छ।
यो यस्तो फोरम हुनेछ जहाँ स्वास्थ्य क्षेत्रका विज्ञ, सरोकारवाला र नीति निर्माताहरू कफीको चुस्कीसँगै स्वास्थ्य क्षेत्रका समस्या र समाधानबारे छलफल गर्नेछन्। ‘मैले यो अवधिमा जे अनुभव सँगालेँ, त्यो समाज र सरकारलाई दिन बाँकी नै छ, बस्नेत आफ्नो भविष्यको योजना सुनाउँदै भने।
ज्ञान बहादुर बस्नेतको सेवा अवधि सकिँदै गर्दा उनले कर्मचारीलाई राजनीतिक आँखाले नहेर्न आग्रह गरेका छन्। कार्यसम्पादन र क्षमताका आधारमा जबसम्म कर्मचारीलाई जिम्मेवारी र अधिकार दिइँदैन, तबसम्म प्रदेश सरकार बलियो हुन नसक्ने उनको अनुभव छ।
















