विराटनगर । समयले एउटा चञ्चल किशोरको भविष्यलाई अँध्यारो कोठाको ओसिलो गुन्द्रीमा कैद गरिदिएको छ। दुई वर्षअघि महालक्ष्मी नगरपालिका–३ को उकालो बाटोमा विद्यालयको झोला भिरेर उक्लँदै गरेको त्यो फुर्तिलो निशान आज एउटा कोठामा थुनिएका छन् । हिजो जसको बोलीमा भविष्यका सपनाहरू झल्किन्थे, आज उसको मौनताले उपचार खोजी रहेको छ। पढाइमा अब्बल र स्वभावमा शालीन निशान थापा १६ वर्षका भए। तर, यो उमेरमा उनीसँग न त विद्यालयको साथीहरू छन्, न त कापी–कलमको साथ नै।

एउटा सामान्य मुटुको समस्याले सुरु भएको उनको स्वास्थ्य यात्रा, परिवारको चरम बेवास्ता र आर्थिक अभावको दलदलमा फसेर आज अपाङ्ग अवस्थामा पुगेका छन् । पुसको यो कठाङ्ग्रिने ठिहीमा जहाँ चराचुरुङ्गी पनि गुँड खोज्दै हिँड्छन्, निशान भने एउटा बन्द अँध्यारो कोठा भित्र दिशा–पिसाबले लतपतिएको ओछ्यानमा जीवनको लडाइँ लडिरहेका छन्। निशानको जीवनमा दुःखको बादल तब मडारियो, जब उनलाई सानैमा आमाको न्यानो काखबाट वञ्चित गरियो। आमाले छोडेर गएपछि बुबा नै उनको संसार हुनुपर्ने थियो, तर नियतिले अर्कै खेल भइदियो । स्थानीयका अनुसार, २४ घण्टा घरबाहिरै हराउने बुबाको छाया त छ, तर संरक्षकत्व छैन। काका–काकीको आफ्नै सङ्घर्ष छ, जसका कारण निशान दिनभरि एउटा निर्जीव वस्तु झैँ कोठामा थन्किन बाध्य छन्।

महालक्ष्मी नगरपालिकाका महिला बालबालिका शाखाका महिला विकास निरीक्षक गीता लुइँटेलले दुई वर्ष अघि विद्यालयमा भेटिएको बालक अहिले ओछ्यानमा भेट्दा असाध्यै पीडा महसुस भएको बताइन् । उनले भनिन्, ‘हामी कोठामा पुग्दा निशानको आँखामा एउटा अनौठो चमक देखियो, उनले हामीलाई चिन्न त चिने, तर उनको घाँटीबाट निस्कने आवाज कतै बिचैमा हराएको थियो । सायद उनी भन्न चाहन्थे, मलाई यो नरकबाट बाहिर निकाल।’ पालिकाले बच्चाको बारेमा जानकारी प्राप्त गरेपछि डाक्टर सहितको टोली त्यहाँ पुगेको थियो । महालक्ष्मी नगरपालिकाको यो दुर्गम वडामा निशानको अवस्थाको बारेमा उपचारको लागि पटक पटक प्रयास नगरेको हैन । तर परिवारले बेवास्ता गर्दा बालक झन् झन् थलिएका छन् ।

युवा जनसहभागिता आधारभूत विद्यालयमा गत वर्षसम्म कक्षा ८ मा पढ्दै आएका निशान्त एकाएक यस्तो अवस्थामा आएकोमा विद्यालय पनि अचम्ममा परेको छ। विद्यालयका प्रधानाध्यापक ओमनाथ पोख्रेलले कक्षा ८ सम्म नियमित आइरहेको विद्यार्थी आफन्तको घरमा गएको बेला लडेर बिरामी परेको बताउँछन् । उनले भने, ‘कक्षा प्रथम हुने, विद्यालयकै पहिलो विद्यार्थी पनि थिए, बिरामी भएर पनि कक्षा ८ मा एक वर्षसम्म पढ्न आएका थिए ।’ थापा अहिले एक जटिल र दुर्लभ रोगका कारण उपचारको अभावमा छ । वंशाणुगत मानिने ’विल्सन डिजिज’ शरीरमा तामाको मात्रा बढी भएर कलेजो र मस्तिष्कमा असर गर्ने रोगबाट निशानले समयमा उचित उपचार र नियमित औषधि नपाउँदा अवस्था जटिल बनेको हो ।

सामान्य बिरामी नै रहेका निशान गत वर्ष रूखबाट लडेर टाउकोमा चोट लागेपछि उनको स्वास्थ्यमा समस्या देखिन थालेको थियो। उनलाई भारतको खरैया र पछि विराटनगरस्थित नोबेल अस्पतालमा जाँच गराउँदा उनमा विल्सन डिजिज रहेको पुष्टि भएको थियो। अस्पतालको औषधि खाउन्जेल उनको स्वास्थ्यमा निकै सुधार आएको थियो र उनी केही समय विद्यालय समेत जान थालेका थिए। तर, आर्थिक अभाव र पारिवारिक असावधानीका कारण बिचैमा औषधि सेवन रोकिएपछि उनलाई रोगले च्यापेको हो । महालक्ष्मी नगरपालिकाको जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अमित चौधरीका अनुसार, लामो समय औषधि छुटेका कारण अहिले निशानमा गम्भीर मानसिक समस्या देखिएको छ। ‘उनको लिभर, किड्नी र दिमागमा रोगले ठुलो असर गरिसकेको छ, डा. चौधरीले भने, ‘आँखामा मोतिया बिन्दु समेत भएकाले उनले राम्रोसँग देख्न पनि सक्दैनन्। अहिले उनी पूर्ण रूपमा अरूको भर पर्नुपर्ने र केही गर्न नसक्ने अवस्थामा छन्।’ केही समयअघि अनुगमनका क्रममा उनलाई निकै कष्टकर अवस्थामा भेटिएको थियो।

उनको शारीरिक र मानसिक अवस्था निकै कमजोर भएपछि अपाङ्गता परिचयपत्रलाई संशोधन गरी ’क’ वर्ग (पूर्ण अशक्त) बनाइएको पालिकाले जनाएको छ। निशानको अवस्थाको बारेमा थाहा पाएपछि महालक्ष्मी नगरपालिकाले उनलाई शैक्षिक सामाग्री, न्यानो कपडा, ओछ्यान र खाद्यान्न जस्ता तत्कालका राहत सामग्री उपलब्ध गराएको उपप्रमुख मञ्जुकुमारी कार्की अधिकारी बताइन् । तत्काल उपचारको लागि २५ हजारसम्म पहिलो चरणमा पालिकाले उपलब्ध गराएको बताइन् । अहिले उपचारको लागि पहल भइरहेको उनको भनाई छ। उपचारको लागि नियमित बसेर सहयोग गर्ने संरक्षक खोज्ने काम भइरहेको उनले सुनाइन्। हाल प्राथमिक स्वास्थ्य केन्द्र जितपुरका डाक्टरहरू र नगरपालिकाका प्रतिनिधिहरूले निशानलाई थप उपचारका लागि विशेषज्ञ अस्पताल पठाउने तयारी गरिरहेका छन् ।