सुनसरी– ट्राफिक व्यवस्थापन सुदृढ गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न नियन्त्रणात्मक तथा सचेतनामूलक कार्यहरू सञ्चालन गरेको छ।

कार्यालय तथा मातहतका इकाइहरूबाट दैनिक रूपमा सवारी साधनको अनुगमन तथा चेकजाँच तीव्र पारिएको छ। यस अवधिमा भाडादर सूची अनुगमन तथा चेकजाँच (भाडादर टाँस) सहित ५ हजारभन्दा बढी सवारी साधनको निगरानी गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रेसर हर्न प्रयोग नियन्त्रण तथा कारबाही गरिएको छ। अनावश्यक हर्न प्रयोग गर्ने ६ सयभन्दा बढी सवारी साधनमाथि कारबाही गरिएको जनाइएको छ। त्यसैगरी ढोका खुला गरी सञ्चालन गर्ने सवारी साधनलाई अनिवार्य ढोका बन्द गरी चलाउन निर्देशन दिई अनुगमन तथा कारबाही गरिएको छ।

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने (ध्वनि प्रदूषण गर्ने) मोटरसाइकलको विशेष निगरानी गर्दै अनिवार्य साइलेन्सर पाइप परिवर्तन गराइएको छ। यस क्रममा २ सयभन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

अवस्था ठीक नभएका अटो, टेम्पो तथा सिटी सफारी सवारी साधनको चेकजाँच गरी मर्मत गर्न लगाइएको छ। ४ हजारभन्दा बढी सवारी साधन जाँच गरिएकोमा १ सयभन्दा बढी सवारी साधनको अवस्था सुधार गराइएको छ।

सडकमा सवारी बिग्रिएर वा अवरोध सिर्जना भएको अवस्थामा बोर्ड राख्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिएको छ। यस्ता स्थानमा युनिफर्मसहित ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध विशेष चेकजाँच तथा कारबाही गरिएको छ। यस अवधिमा २ हजारभन्दा बढी सवारी साधन जाँच गर्दा उल्लेख्य संख्यामा चालक कारबाहीमा परेका छन्। कारबाहीबाट ११ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

हराएको तथा चोरी भएका सवारी साधन खोजतलासका क्रममा बोलेरो जिप ५ थान र मोटरसाइकल १ थान फेला पारिएको छ। सम्बन्धित धनीलाई बुझाइएका ती सवारीमध्ये केही अनुसन्धान प्रक्रियामा रहेको जनाइएको छ।

लागू पदार्थ सेवन चेकजाँच कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र कोशी प्रदेश प्रहरी अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षण गरिएको थियो। चेकजाँचका क्रममा केही चालक तथा सहचालकमा लागू पदार्थ सेवन पुष्टि भएपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

यस्तै, मोरङको बुढिगंगा गाउँपालिका–नेमुवामा गरिएको चेकजाँचमा पनि चालक तथा सहचालकमा लागू पदार्थ सेवन पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाइएको छ।

ट्राफिक प्रहरीले निःशुल्क आँखा जाँच शिविरसमेत सञ्चालन गरेको छ। चालक–परिचालक लक्षित शिविरमा ४ सयभन्दा बढीको आँखा परीक्षण गरिएकोमा केही चालकमा मोतियाबिन्दु समस्या देखिएको जनाइएको छ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन कायम र सुरक्षित यातायात प्रवर्द्धनका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।