ऋषिकेश पोखरेल ।
राजनीतिमा मैले बिताएका दशकौँका यात्रामा एउटा कुरा बारम्बार दोहोरिएको देखेँ । पार्टीभित्रका किचलो र विभाजनहरू कहिल्यै पनि सिद्धान्तका कारण होइन, अवसर र व्यक्तिगत महत्त्वाकाङ्क्षाका कारण जन्मिएका रहेछन् । समयको प्रवाहसँगै, माओवादी, एमाले वा कुनै पनि कम्युनिस्ट सङ्गठनका भित्र–बाहिर उठेका ती लहरहरूले एउटा समान तथ्य दोहोर्याउँछन् । मूल विचार र संस्थागत नेतृत्वबाट विचलन कहिल्यै स्थायी हुन सक्दैन। म पनि ती समयका धेरै उतार–चढावको साक्षी बनेँ। कुनै बेला सिपी कमरेडको साथ दिनुपर्छ भन्दै केही साथीहरूले समूह बनाए, मूल नेतृत्वविरुद्ध आवाज उठाए। फेरि केही वर्षपछि वामदेव कमरेडकै समर्थनमा उस्तै लहर उठ्यो। त्यसपछि अशोक राई, माधव नेपाल, प्रचण्ड–नेपाल हुँदै फेरि माधव नेपाल नै ।
हरेक पटकको तर्क एउटै ‘अब यही लाइनमा लागे मात्र पार्टी रहन्छ।’ तर हरेक पटकको अन्त्य उस्तै भयो, असफलता, निराशा र आत्म विरोध । हिजोका ती क्रान्तिकारी भनिने साथीहरूले अनेकौँ पटक मलाई पनि मनाउन खोजे, ‘पार्टीको मुख्य धारा पुरानो भयो, नयाँ बाटो खोजौँ’। जुनसुकै सङ्गठनले आफ्नो मूल विचार, कार्यक्रम र संस्थागत नेतृत्वलाई त्याग्यो, अन्ततः दिशाहीन भयो भयो भन्ने इतिहासले प्रमाणित ग¥यो ।
पद र अवसरको मोहले हरेक पटक पार्टीभित्र फुट र दुर्बलता मात्र ल्यायो। राजनीतिक सङ्गठन कुनै दिन–दुईको आवेगले चल्दैन। त्यो दीर्घकालीन दृष्टिकोण, सामूहिक निर्णय र सिद्धान्तमा अडिएको प्रतिबद्धताबाट टिकेको हुन्छ। कहिलेकाहीँ संस्थागत नेतृत्वमा कमजोरी देखिन सक्छ, तर सुधारको बाटो पार्टीभित्रै खोज्नुपर्छ।
बाहिरिएर ‘नयाँ बाटो’ खोज्नेहरूले अन्ततः त्यही मूल बाटोमा फर्किन खोज्दा समय बितिसकेको हुन्छ। आज ती सातौँ पटकसम्म नयाँ समूह बनाउने र विकल्प खोज्ने साथीहरू नै अस्तित्व विहीन छन्। उनीहरू कतै सङ्गठनमा हराए, कतै व्यक्तिगत निराशामा। र पार्टी भने, कमजोरीका बाबजुद पनि, आफ्नो बाटोमा अघि बढिरहेको छ। मलाई अहिले बुझाइएको कुरा के हो भने, ‘अवसरवादले सधैँ अल्पकालीन लाभ दिन सक्छ, तर त्यसले आत्मसम्मान, विचार र दीर्घकालीन उद्देश्य खोस्छ।
कुनै पनि सङ्गठनको सबलता नेतृत्वको स्थिरता र संस्थागत निर्णयमा भरोसा गर्नेतर्फ निर्भर हुन्छ। त्यही स्थायित्वले सङ्गठनलाई दिशाहीनताबाट जोगाउँछ।’ हतार, महत्त्वाकाङ्क्षा र पद लोभले कहिल्यै सही दिशा दिँदैन। यसले मान्छेलाई अस्थायी सन्तुष्टि दिन सक्छ, तर अन्ततः त्यसको फल कुण्ठा, डाहा र जलनकै रूपमा फर्कन्छ। जीवन, राजनीति र विचारका यात्रामा मैले यो गहिरो सत्य अनुभव गरेको छु ।
मूल बाटो छोडेर बनाइएको हरेक ‘सहायक बाटो’ अन्ततः मूल बाटोकै छेउमा आएर थकित भएर टुट्ने रहेछ।
(पोखरेल नेकपा एमालेका नेता एवम् तत्कालीन सार्वजनिक लेखा समितिका सभापति हुन् ।)

















