इटहरी । सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बिचमै अलपत्र पार्ने निर्माण कम्पनीहरुलाईं कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टीकरण सोधेको छ ।
विभिन्न १४ वटा योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उप महानगरले किन कालो सूचीमा नराख्ने भन्दै स्पष्टीकरण सोधेको हो । 
पटक पटक सम्पर्क गर्दा तथा सार्वजनिक सूचना जारी गर्दा पनि सम्पर्कमा नआएको तथा निर्माणको काम पनि सुचारु नगरेको भन्दै इटहरी उपमहानगरले सार्वजनिक रूपमा स्पष्टीकरण सोध्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

माघ १० गते एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै १५ दिन भित्रमा स्पष्टीकरण पेस गर्न इटहरी उपमहानगरले भनेको छ ।
तोकिएको मितिमा सम्पर्कमा नआउने, स्पष्टीकरण पेस नगर्ने कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ बमोजिम कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने चेतावनी दिएको छ ।

कारबाहीमा पर्ने कम्पनीको जमानत जफत गरी बाँकी निर्माण कार्य गर्ने रकम समेत सो कम्पनीबाट नै असुल उपर गर्ने उपमहानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 
ठेक्का सम्झौता भई निर्माण कार्य अधुरा रहेका, म्याद समाप्त भएका निर्माण कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरी काम सुचारु गर्न गएको भदौ १ गते पनि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

 
आवश्यक कागजपत्र सहित कार्यालयमा उपस्थित हुन उपमहानगरले सूचना मार्फत भनेको थियो । तर त्यो बेला पनि कुनै निर्माण कम्पनीहरू उपमहानगरको सम्पर्कमा गएनन् । 

योजनाहरू अलपत्र छाडेर भाग्ने तथा सम्पर्क विहीन हुने निर्माण कम्पनीहरूलाई पटक पटक आग्रह गर्दा पनि सम्पर्कमा नआएका कारण कारबाहीको प्रक्रिया सुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 

यी हुन अलपत्र छाडिएका योजना

Aadhibashi sangrahalaya

दुई वर्ष अघि इटहरीको थारु संस्कार संस्कृति सहित अन्य जातजाति भाषा भाषीहरूको कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न आदिवासी जनजाति संग्राहलय निर्माण सुरु गरिएको थियो । 

१६ मङ्सिर २०७८ मा निर्माण सम्झौता भएर काम सुरु भएको यो संग्राहलय २५ असार २०७९ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हो । तर यो संग्राहलयको काम हाल सम्म  १६.७२ प्रतिशत मात्रै भएको छ ।

संग्राहालय बनाउने ठेक्का प्रेरा गिरी जे.भी हात्तिवनले पाएको थियो । निर्माण कम्पनीले संग्राहलयको बेसको काम र पिल्लर आधा ठ्याएर त्यसै छाडिएको छ । गर्दा गर्दैको काम त्यसै छाडेपछि संग्राहालय अलपत्र छ । अहिले सो क्षेत्र हेर्दै उराठ लाग्यो देखिन्छ ।  

यस्तै, दुई वर्ष अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण भएर सञ्चालन हुनुपर्ने १५ बेडको इटहरी अस्पतालको भवन अझै निर्माण सकिएको छैन । अस्पतालको ६५ प्रतिशत काम भएको छ तर बाँकी गर्नुपर्ने ३५ प्रतिशत काम कहिले सकिने हो टुङ्गो छैन ।
अस्पतालको भवन ३० असार २०७८मा प्रतिष्ठा गिरी जे.भी कम्पनीले सम्झौता गरेर काम सुरु गरेको थियो ।  

इटहरी अस्पतालले अहिले पुरानो भवनबाटै सेवा दिई रहेको छ । साँघुरो, जीर्ण भएको भवनबाट नागरिकलाई सेवा दिनुपर्ने अवस्था छ । भवनको अभावमा इटहरी अस्पतालले थप सेवा विस्तार गर्न सकेको छैन ।

पर्याप्त ठाउँको अभावमा थप सेवा विस्तार गर्न नसकिएको अस्पतालका मे.सु डा. गुञ्जन त्रितालले बताए  । निर्माण हुँदै गरेको भवन चाँडै सकिए अस्पतालले थप सेवा विस्तार गर्ने योजना रहेको उनले सुनाए । 

Itahari Hospital


स्मार्ट शौचालय बनाउने भनेर उपमहानगर गेट पूर्वपट्टि भवन निर्माण सुरु गरिएको थियो । भवन त बन्यो तर सञ्चालनमा आउन सकेन । बाँकी काम त्यसै छाडेर ठेकेदार सम्पर्क विहीन बनेपछि भवन अलपत्र छ । त्यो भवनमा अहिले माकुराले जालो लगाएको छ ।
 
अन्य स्मार्ट शौचालय सञ्चालनमा आए तर यो स्मार्ट शौचालय अझै सञ्चालनमा आउन सकेको छैन । यो शौचालय निर्माणको ठेक्का सिराहाको अङ्कित कन्स्ट्रक्सनले पाएको थियो । यो कन्स्ट्रक्सन कम्पनी पनि लामो समय देखी उपमहानगरको सम्पर्कमा छैन । 

इटहरी ६को मुख्य बजार भएर बग्ने टेङ्ग्रा खोलामा वाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेशन गर्ने उपमहानगरको योजना छ । सोही बमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनीसँग उपमहानगरले सम्झौता गरेको थियो । तर यो काम पनि सुरु हुनै सकेको छैन ।   
इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बिचमै रोकिएको छ । ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने हो । तर अहिले सम्म त्यहाँ कालो पत्रे गर्ने तयारी देखिँदैन । यहाँ केवल २४.१५ प्रतिशत मात्रै काम भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । 

ठेकेदारले काम नगर्दा  समस्या भएको स्थानियबासीले गुनासो गरेका छन् । यस्ता काम नगर्ने कम्पनीलाई खारेज गरी अन्य काम गर्ने कम्पनीलाई जिम्मा दिनुपर्ने स्थानीय रमेश चौधरीले बताए । 

यी योजना सहित इटहरीका नगर स्तरीय सडक तथा पुल निर्माणका योजनाहरू अहिले ठेकेदारले काम नगर्दा अलपत्र अवस्थामा छन् । नगर स्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण सहितका योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक तागेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । 

यी ठेकेदार,जसले काम पुरा गरेनन्  

इटहरीका विभिन्न १४ वटा योजना अन्तर्गत निर्माणको कामलाई अलपत्र पार्ने  ६ कम्पनी छन् । त्यस मध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनी भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण ठेक्का पाएको थियो । तर सबै काम आधा मात्रै भएका छन् । 

इटहरी १४, हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ को लविपुर मझरा कालोपत्रे सडक योजना, इटहरी १८, जातपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सन वाल निर्माण योजना, इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने  कालोपत्रे सडक योजना र इटहरी ८को सतन मार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवनले ठेक्काको लिएको छ । तर कुनै काम पुरा गरेको छैन । 

यसै गरी इटहरी १० को बहुजातिय संग्राहलय प्रेरा गिरी जे.भी हात्तीवन र इटहरी ९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे.भी कम्पनीका ठेकेदार पनि गिरी कन्स्ट्रक्सनका ठेकेदार एकै हुन ।

 ठेकेदार एकै तर कम्पनी फरक पारेर ठेक्का लिएका हुन । यसरी एउटै ठेकेदारले विभिन्न ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । यी सबै कम्पनीका ठेकेदार कुमार गिरी हुन । उनी इटहरी बासी नै हुन । 

ठेकेदार कुमार गिरीले समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताए । उनले भने,‘निर्माण सामग्रीको मूल्य बढेकाले समेत समस्या भएको छ । मैले यही कुरा स्पष्टीकरण पत्रमा लेखेर पठाएको छु ।’ 

Smart Toilet _ Itahari

यस्तै अन्य योजना अलपत्र पार्ने अर्को कम्पनी सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा.लि हो । यो कम्पनीले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६को हक्राहा खोलाको बक्स पुल निर्माणको काम बिचमै छाडेर सम्पर्क विहीन भएको छ । 

भोजपुरको अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटर्नीङ वाल लगाउने काम हुन सकेको छैन । 

खनार प्रहरी चौकी–भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन र घोईन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेका छन् । 

इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने ठेक्का पाएको भैरव नारायणम जे.भी नेपालगन्जले काम गर्न सकेको छैन । 

एक भन्दा बढी ठेक्का लिने तर काम नगर्ने कम्पनीहरूलाई कारबाही गरिने इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
कानुनले दिएको अधिकार प्रयोग गरी तोकिएको मितिमा स्पष्टीकरण नदिने तथा सम्पर्कमा नआउने कम्पनीलाई कारबाही गर्ने उनले बताए ।
कानुनको छिद्र प्रयोग गर्दै एक भन्दा धेरै ठेक्का लिने, योजना विट गर्दा कम रेटमा विट गर्ने, कामै नगरी बिचमै छाडेर अलपत्र पार्ने, ढिलो काम गर्दै अल्झाएर म्याद मात्रै थप गर्न लगाउने ठेकेदारहरूको नियत नै ठिक देखिँदैन । यस्ता गलत ढङ्गबाट काम गर्ने कम्पनीहरूलाई कारबाही गर्नुपर्ने आवश्यक देखिन्छ ।।