विराटनगर । आइतबार बिहान करिब १० बजेको थियो । बागमती प्रदेश ०१–००१ ग ४११२ नम्बरको बस विराटनगरमा रहेको आदर्श माध्यमिक विद्यालय भित्र प्रवेश गर्‍यो ।  लाइनमा बसेका विद्यार्थीहरूको ध्यान त्यस बस तर्फ केन्द्रित भयो । सरकारी नम्बरको उक्त बस विद्यालयमा प्रवेश गर्दै गर्दा विद्यार्थीहरू नयाँ बस किन प्रवेश गरेछ भनेर केही बेर अलमलमा परे । हरेक दिन विद्यालयको पहेँलो रङको बस मात्र विद्यार्थी बोकेर आउने गरेकोमा  नयाँ सुविधा सम्पन्न बस आएको देखेर विद्यार्थीहरूले यसलाई अनौठो माने । 
किन विद्यालयमा यो बस आयो, कोही घुम्नको लागि पो आएका हुन् की भन्ने  पनि देखिए ।  तर  त्यस्तो केही थिएन । बस एक छेउमा लगेर रोकियो ।  विद्यार्थीहरू प्रार्थना सकेर आ–आफ्नो कक्षामा पसे । त्यस मध्येका २० जना विद्यार्थीलाई बाहिरै राखियो । पहिला नै उनीहरूको नाम विद्यालयले छनौट गरिसकेको थियो ।  पहिलो पटक २० जना  विद्यार्थीलाई यो बस भित्र हालियो ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को यो बस पछिल्लो समय कोसी प्रदेशका विभिन्न जिल्लाहरूमा घुम्दै छ ।  
aadarsha

कोसी प्रदेशमा माघ पहिलो हप्तादेखि आएको बसले विभिन्न विद्यालयमा पुगेर विज्ञान र प्रविधिको बारेमा जानकारी गराउँदै आएको थियो ।  धरानमा कार्यक्रम गर्न आएको अवस्थामा विद्यालयकै पहलमा टोली आदर्शमा आएको  प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।  
कोरिया सरकारको सहयोगमा विगत २ वर्षदेखि नेपालमा यस्तो अभ्यास हुँदै आएको छ ।  यो घुम्ती सूचना पहुँच केन्द्र  नाम  दिएर  नास्टले ७७ जिल्लामा नै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा सूचनाको पहुँच पुर्‍याउनको लागि यो क्षेत्रमा भएको विकासको बारेमा विद्यार्थीलाई विद्यालयमै पुगेर सुसूचित गराउने गरेको नास्टले जनाएको छ। 
ICT labb

विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मलाई सेवा दिने गरी स्थापना भएको घुम्ती सूचना पहुँच केन्द्रले सञ्चालन गरेको यो बसमा सबै खालका प्रविधि जडान गरिएको छ। सूचना प्रविधिलाई दूर दराजमा पुर्‍याउने प्रयास नास्टको रहेको छ । 
प्र अ पोखरेलका अनुसार, नास्टको आइटी बस सेवा मार्फत हाम्रा विद्यार्थीलाई  पनि अहिलेको विज्ञान र प्रविधिको बारेमा बुझाउन असाध्यै सजिलो भयो ।’ 
यो बसमा एक पटकमा २० जनाले सुविधा लिन सक्ने व्यवस्था छ । त्यहाँ पालो गरेर पटक पटक विद्यार्थीहरूलाई सिकाउने गरिएको थियो । आदर्श माध्यमिक विद्यालयका ५१ जनालाई २ पटक र सत्यनारायणका २० जना गरी ७१ जना विद्यार्थीलाई पटक पटक गरी  विज्ञान प्रविधिको बारेमा जानकारी गराइएको थियो । कक्षा कोठामा बसेर या बाहिर अन्य कुनै ठाउँमा सिकेको भन्दा बेग्लै रुचिका साथ विद्यार्थीहरूले आइटी प्रविधिको बारेमा सिकेको आदर्श माविका विज्ञान विषयका शिक्षक लीला बन्जाराले जानकारी दिए ।  ‘विज्ञान र प्रविधिको बारेमा नास्टले गर्दै आएको नयाँ अभ्यास, पाठ्यक्रम भन्दा बाहिरको विषयहरू जान्न पाएकोमा विद्यार्थी खुसी देखिन्थे, शिक्षक बन्जाराले भने,  पाठ्यक्रममा भएको भन्दा भिन्न गरी अहिलेको विज्ञान र प्रविधिमा नेपालले गर्दै आएको अभ्यास र विश्वमा भइरहेको परिवर्तनको बारेमा विद्यार्थीले सरल रूपमा जान्ने प्रयास  गरेका थिए ।’  आइतबार बिहान १० बजे विद्यालय प्रवेश गरेको आइटी बस दिउँसो ४ बजे मात्र फर्किएको थियो ।
ICT labbbb
धरानमा ३५ जना विद्यार्थीलाई नानो स्याटेलाईट बनाउने तालिम दिन  टोली एक हप्ता पहिला देखि नै धरान आएको थियो । धरानमा हामीले नानो स्याटेलाईट बनाउने तालिम दिएसँगै विद्यार्थीहरूले परीक्षण  पनि गरेका थिए । 
तालिम सकेपछि आइटी बस माघ ११ गते पब्लिक उच्चा माविमा  गएको थियो । आइटी सम्बन्धी प्रशिक्षणमा ३ विद्यालयका ८० जना सहभागी भएको नास्टका टेक्निकल अफिसर मनोजकुमार साहले जानकारी दिए । 
‘दोस्रो दिन माघ १२ गते झापाको दमकमा रहेको सिंहदेवी माध्यमिक विद्यालय कार्यक्रम गरिएको थियो, त्यस कार्यक्रम ३ विद्यालयका ६८ जना सहभागी थिए, साहले भने, नास्टले माघ १३ गते बेलवारीको भगवती माध्यमिक विद्यालयमा प्रशिक्षण दिँदा ६९ जना विद्यार्थी सहभागी बनेका थिए ।’  माघ १४  गते टोली विराटनगरको आदर्श माविमा पुगेर प्रशिक्षण दिएको थियो । 
के हुन्छ बस भित्र

बस भित्र प्रत्येक सिटमा ल्यापटप राखिएका छन्  । इपोडियम, प्रोजेक्टर, वाटर हिटर, साउण्डसिस्टम, सबै सिटमा वाईफाई तथा नेटवर्किङको व्यवस्था छ । बस भित्रै शौचालय समेतको व्यवस्थाले प्रशिक्षण अवधिभर विद्यार्थीलाई बाहिर निस्कनु पर्ने अवस्था हुँदैन । ‘आइटी रुम भित्र जति सुविधाहरू हुने गर्छन् ती सबै सुविधा आइसिटी बस भित्र हुन्छ, साहले भने, यसमा एसी, बिजुली लगायतका सबै खालका उपकरणहरू बाहिरबाट ल्याउनु पर्दैन त्यहाँ भित्रै हुन्छन्  ।’
belbari
विद्यालयमा पुग्दा विद्यार्थीको माग अप्ठ्यारोको बारेमा विद्यार्थीहरुलाई नै सोधेर साइबर सेक्युरिटी, गुगल सर्च लगायतको कक्षा दिने गरिएको र त्यहीँ सिकाउने गरिएको उनले बताए । मधेस प्रदेश बाहेकका सुदूरपश्चिम, कर्णाली, बागमती, गण्डकी, लुम्बिनी र कोसी प्रदेशमा  आइसिटी बस पुगिसकेको छ भनेँ  मधेस प्रदेशमा  आगामी महिना जाने तयारी भएको नास्टले जनाएको छ।